विपी राजमार्गमा रातिको सवारी सञ्चालनमा थप १५ दिन रोक

सिन्धुली, ३१ श्रावण / मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै विपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा थप १५ दिनका लागि रोक लगाइएको छ।
सिन्धुली जिल्ला प्रशासन कार्यालयका अनुसार सिन्धुलीको खुर्कोटदेखि काठमाडौंतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनलाई भदौ १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको हो।
कार्यालयले जारी गरेको सूचनामा मनसुन सक्रिय रहेकाले बाढी–पहिरोको सम्भावना उच्च रहेको र विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको उल्लेख गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विपी राजमार्गमा मनसुनको समयमा दुर्घटना हुने सम्भावना बढ्ने भएकाले रोकलाई निरन्तरता दिनुपरेको बताए।
यसअघि गत असार ७ गतेदेखि अन्तरजिल्ला समन्वय समितिको निर्णयअनुसार काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। सो निर्णयलाई निरन्तरता दिँदै पुनः थप १५ दिनका लागि रोक लगाइएको हो।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
पूर्वी नेपाललाई राजधानीसँग छोटो दूरीमा जोड्ने विपी राजमार्गमार्ग हुँदै दैनिक हजारौँ सवारीसाधन आवतजावत हुने गर्छ। रोकका कारण यात्रु र चालकलाई असुविधा भए पनि सुरक्षाका दृष्टिले यो आवश्यक रहेको सम्बन्धित निकायहरूले जनाएका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया