सरुवा अस्वीकार गरेर अनशन बसेका ‘ढकाल–फुयाँल’ सरुवा भएकै विद्यालयमा हाजिर हुने!

सिन्धुली, ३० साउन— कमलामाई नगरपालिका–६ माढीबजारस्थित गौमती माध्यमिक विद्यालयका शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले १० दिन लामो रिले अनशनपछि अन्ततः सरुवा गरिएकै विद्यालयमा हाजिर हुन तयार भएका छन् ।
गत साउन १६ गते बसेको नगर शिक्षा समितिको बैठले विभिन्न तहका १५ शिक्षकको सरुवा गरेको थियो। ढकाललाई जनज्योति माध्यमिक विद्यालय, फोर्सेटार र फुयाँललाई कमला माध्यमिक विद्यालय, ढुंग्रेवारमा खटाइएको थियो। अधिकांश शिक्षकले तोकिएको विद्यालयमा हाजिर भए पनि ढकाल र फुयाँलले आदेशलाई अन्यायपूर्ण भन्दै विद्यालय परिसरमै अनशन सुरु गरेका थिए।
ढकाल २०४७ सालदेखि र फुयाँल पछिल्लो ११ वर्षदेखि सोही विद्यालयमा कार्यरत छन्। उनीहरूले लामो सेवा हुँदाहुँदै पूर्वसूचना बिना सरुवा गरिएको र सम्मानजनक व्यवहार नपाएको भन्दै विरोध जनाएका थिए।
शुक्रबार (आज) बिहान कमलामाई नगरपालिकाका प्रतिनिधि, शिक्षक संगठनका पदाधिकारी तथा अनशनरत शिक्षकबीच भएको छलफलमा तीन बुँदे सहमति भएपछि उनीहरू सरुवा गरिएकै विद्यालयमा हाजिर हुन राजी भएका हुन्।
शिक्षा शाखा प्रमुख नवराज बरालका अनुसार सहमति बुँदाहरू यस प्रकार छन्—
- विद्यालयले शिक्षक–कर्मचारीलाई सम्मानपूर्वक र शान्त वातावरणमा पठनपाठन सुनिश्चित गर्ने।
- दरबन्दी मिलान, विद्यालय मर्जिङ तथा सरुवा कार्य स्थानीय पेसागत संगठनको सहमतिमा मात्र गर्ने।
- अनशनरत शिक्षक तत्काल हाल खटाइएको विद्यालयमा हाजिर हुने, र दरबन्दी मिलान कार्यदलको प्रतिवेदनपछि रोजाइअनुसार कार्यस्थल तोकिने।
कमलामाई नगरपालिकाको तर्फबाट सामाजिक विकास समिति संयोजक उज्ज्वल कुमार थापाको संयोजकत्वमा भएको छलफलमा नेपाल शिक्षक महासंघ कमलामाई अध्यक्ष रामेश्वर दाहाल, नेपाल शिक्षक संघ कमलामाई अध्यक्ष केदारप्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई अध्यक्ष दीपक कुमार बुढाथोकी, एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई अध्यक्ष हरि बहादुर थापा, अनशनरत शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँल सहभागी थिए।
सहमतिको रोहबरमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज बराल, नेपाल शिक्षक संघ सिन्धुली अध्यक्ष अरुण कुमार थिङ, नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली अध्यक्ष गुणविक्रम कुँवर, एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुली अध्यक्ष सन्तोष कुमार श्रेष्ठ र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली अध्यक्ष ध्रुव प्रसाद पहाडी उपस्थित थिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया