चौधरी अगाडि एमालेको चुनौतीको चाँङ

सिन्धुलीमाढी,२८ साउन / दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्दैकिशोर चौधरीलाई नेकपा (एमाले) दुधौली नगरकमिटीले चुनौतिका चाँङ तेर्साएको छ।

नगरप्रमुख दिनेश अधिकारीमाथि बलात्कारको आरोप लागेपछि उपप्रमुख चौधरी कार्यवाहक नगरप्रमुख बनेका हुन्। यसै क्रममा मंगलबार (हिजो) नगरकमिटीले उनलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कृषि, शिक्षा, स्वास्थ्य, पशुपालन र सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न माग गरेको हो।

नगरकमिटी अध्यक्ष खेटरराज अधिकारी र सचिव चन्द्रबहादुर कार्की (रमेश)को हस्ताक्षर रहेको उक्त पत्रमा रासायनिक मल वितरण प्रणाली पारदर्शी बनाउन, कालोबजारी नियन्त्रण गर्न र किसानलाई पर्याप्त मात्रामा सुपथ मूल्यमा मल उपलब्ध गराउन जोड दिइएको छ। साथै, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कारबाही गर्न तथा कृषकको गुनासो सुन्न समन्वय समिति गठन गर्न आग्रह गरिएको छ।

ध्यानाकर्षणपत्रमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि प्रभावकारी योजना बनाउन, राजनीतिप्रशासनबीचको अस्वस्थ सम्बन्ध अन्त्य गर्न र नगरभित्र शिक्षा क्षेत्रमा देखिएका कमजोरी सुधार गर्नुपर्ने मागसमेत राखिएको छ। राजनीतिक दलको भातृसंगठनको कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाले संलग्न भएकोप्रति आपत्ति जनाउँदै यसबारे चित्त बुझ्दो जवाफ माग गरिएको छ।

शिक्षा क्षेत्रमा शिक्षकहरूलाई दिइएको अनावश्यक दबाब, धम्कीपूर्ण व्यवहार र राजनीतिक हस्तक्षेप रोक्नुपर्ने उल्लेख गर्दै विद्यालयमा सुरक्षित पठनपाठन वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ।

स्वास्थ्य क्षेत्रमा नगर अस्पतालमा आवश्यक संरचना, उपकरण र जनशक्ति वृद्धि, गरिब तथा विपन्न वर्गका लागि निःशुल्क उपचार, सेवामा समान पहुँच र शुल्कको पारदर्शिता कायम गर्नुपर्ने भनिएको छ।

पशुपालनतर्फ लम्की स्किन रोगको स्थिति सर्वेक्षण, निगरानी र नियन्त्रणका लागि औषधि तथा उपकरण तत्काल उपलब्ध गराउन, संक्रमित पशुहरूलाई आइसोलेसनमा राखी उपचार सुनिश्चित गर्न, स्वास्थ्यकर्मी मोबाइल टोली गठन गरी प्रभावित क्षेत्रमा सेवा प्रवाह गर्न र निःशुल्क खोपको व्यवस्था गर्नसमेत माग गरिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर