सिन्धुलीमा गाईजात्रा उत्साहपूर्वक मनाइयो, बागमती प्रदेशभर सार्वजनिक बिदा

सिन्धुली, २५ साउन / परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइयो। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यस पर्वको पहिलो दिन सिन्धुलीमा पनि श्रद्धा र उत्साहका साथ गाईजात्रा निकालियो।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगरपरिक्रमा गराइने चलनअनुसार स्थानीय बासिन्दाले रंगीचंगी पोशाक, मुखुण्डो र सजावटी सामग्रीसहित जुलुस निकाले। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरे।

सिन्धुलीमाढीस्थित २ नम्बर बजारमा रहेको गुठी संस्थानबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै बसपार्क आइपुगेर समापन भएको थियो। नेवारी समुदायले परम्परागत शैलीमा गाईजात्रा जात्रा निकालेका थिए। कार्यक्रममा सहभागीले परम्परागत वाद्यवादन, नाचगान र व्यङ्ग्यात्मक प्रस्तुतिहरूका माध्यमबाट गाईजात्राको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काए।

ऐतिहासिक रूपमा राजा प्रताप मल्लको पालादेखि सुरु भएको गाईजात्रामा मृत्यु, शोक र जीवनचक्रप्रति जनचेतना जगाउने उद्देश्यका साथै प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुतिहरू गर्ने परम्परा पनि जोडिएको छ।

यस अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २५ गते परेको गाईजात्राको अवसरमा बिदा दिइएको हो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर