गोलन्जोर अस्पताल सञ्चालनका लागि, मदन भण्डारीसंग सम्झौता

ग्वाल्टार (सिन्धुली), २२ साउन – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र सिन्धुलीको गोलञ्जोर गाउँपालिकाबीच स्वास्थ्य सेवा र शिक्षामा सहकार्य गर्न आज एक सम्झौतामा हस्ताक्षर भएको छ। स्वास्थ्य शिक्षालाई व्यवहारिक बनाउने र गाउँस्तरसम्म सेवा विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको हो।
गोलञ्जोर गाउँपालिकाको ग्वाल्टरस्थित गोलञ्जोर आधारभूत अस्पताल परिसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली र गाउँपालिका अध्यक्ष शंकरराज बरालले सम्झौतापत्रमा हस्ताक्षर गरे।
उपकुलपति डा. ज्ञवालीले समुदायमा पुगेर शिक्षण, सेवा र अनुसन्धान एकसाथ अघि बढाउने लक्ष्यमा यो साझेदारीले सहयोग पुर्याउने बताए। सम्झौता पश्चात बोल्दै गाउँपालिका अध्यक्ष शंकरराज बरालले भने: “गोलन्जोरजस्तो दुर्गम भेगमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने हाम्रो अभियानमा यो सम्झौता एक कोसेढुंगा हो। प्रतिष्ठानसँगको सहकार्यबाट अस्पताल सञ्चालन, दक्ष जनशक्ति व्यवस्थापन, तालिम र अनुसन्धानमा नयाँ अवसरहरू सिर्जना हुनेछन्। यसले हाम्रो गाउँपालिका मात्र होइन, आसपासका जिल्लाका बासिन्दालाई समेत लाभ पुर्याउनेछ।”
सम्झौता अनुसार, अब प्रतिष्ठानका स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूले गोलञ्जोर आधारभूत अस्पतालमा अभ्यास गर्नेछन्। यसले विद्यार्थीको व्यवहारिक ज्ञान बढाउने र गाउँमा नै स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गर्ने बताइएको छ।
विद्यार्थी तथा प्राध्यापकहरूको टोलीले गाउँपालिकाका सातै वडामा स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा सेवा कार्यक्रम सञ्चालन गर्नेछ। अस्पतालमा प्राविधिक जनशक्ति आवश्यक परेमा प्रतिष्ठानले पठाउनेछ भने डिजिटल सेवा (जस्तै टेलिमेडिसिन) लाई प्रयोगमा ल्याइनेछ।
रजिस्ट्रार भीमसागर गुरागाईंका अनुसार यो सहकार्य ग्रामीण स्वास्थ्य सेवा, तालिम, अनुसन्धान र नीतिनिर्माणका पक्ष समेटिएको छ। गाउँपालिकाले अभ्यास तथा अनुसन्धानका लागि स्थान, आवास, भोजन, समन्वय, सुरक्षा तथा सूचना व्यवस्थापनमा सहयोग गर्नेछ। सम्झौतामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, मानव स्रोत आदानप्रदान, संयुक्त अनुसन्धान तथा अन्य सहकार्यका बुँदाहरू समेटिएका छन्। सहकार्य पाँच वर्षका लागि हुनेछ र आवश्यकताअनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। सम्झौतापछि दुवै पक्षका प्रतिनिधिहरूले ब्याक टु लाइफ ई.भी. जर्मनीको आर्थिक सहयोगमा स्थानीय संस्था सीएसडीएसले निर्माण गरेको अस्पताल भवन अवलोकन गरेका थिए।
यस अस्पतालले गोलन्जोरसँगै फिक्कल, सुनकोशी, रामेछाप, ओखलढुंगा र खोटाङका सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरी सेवा प्रवाह गर्नेछ। मध्यपहाडी लोकमार्गसँग सिधा जोडिएको यो अस्पतालले दुर्गमका नागरिकलाई सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिन सक्ने अपेक्षा गरिएको छ।
सम्झौता कार्यक्रममा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार), प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख तथा अन्य जनप्रतिनिधि, प्रतिष्ठानका प्रतिनिधि र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
गाउँपालिकाका अनुसार अस्पताल सञ्चालनको अन्तिम तयारी तीव्र गतिमा अघि बढिरहेको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया