सिन्धुलीका युवकलाई भारत पुर्याएर मिर्गौला बेच्ने गिरोहमा संलग्न थप ३ जना पक्राउ

सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला भारतमा जबरजस्ती निकालिएको घटनामा संलग्न भएको अभियोगमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कुमार भनेर चिनिने राजकुमार नेपाली, राकेश नेपाली र अर्का एक जना व्यक्तिलाई बुधबार र बिहीबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो। ब्युरोका एसएसपी कृष्णप्रसाद पंगेनीले अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएकाले नियन्त्रणमा लिइएको जानकारी दिए।
तीनै जनालाई आज (बिहीबार) जिल्ला अदालतमा उपस्थित गराई म्याद थपको प्रक्रिया सुरु गरिएको छ। “एक जना भने अझै प्रारम्भिक सोधपुछकै चरणमा रहेकाले म्याद थप गरिएको छैन,” एसएसपी पंगेनीले भने।
यसअघि नुवाकोटका समीर परियार पक्राउ परेका थिए। यससँगै घटनामा संलग्न भनेर पक्राउ पर्नेको संख्या चार पुगेको छ।
प्रहरी अनुसन्धान अनुसार दुधौली नगरपालिका–१, सिन्धुलीका भुजेललाई काठमाडौंमा होटलको जागिर लगाइदिन्छु भनेर भारत पुर्याइयो। भारतमा उनको मिर्गौला निकाली बिक्री गरिएको र त्यसपछि स्वदेश फर्काइएको प्रहरीको दाबी छ।
घटनामा समीर परियार र कुमार नेपालीले भारतबाट भुजेललाई ल्याएर काठमाडौंको नयाँ बसपार्कसम्म पुर्याएको तथ्य खुलेको छ।
प्रहरीले गिरोहका अन्य सम्भावित सदस्यहरूको खोजी कार्य जारी राखेको जनाएको छ।
यो पनि पढ्नुस्ः भारत पुर्याएर मिर्गौला झिकियो, नेपाल फर्किँदासम्म थाहा नै पाएनन्
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया