सरुवा अस्वीकार गर्दै अनशन: शिक्षक नेताहरु के भन्छन्?

कमलामाई नगरपालिकाको शिक्षक सरुवा निर्णयविरुद्ध सुरु भएको रिले अनशन दोस्रो दिनमा प्रवेश गरिसकेको छ। गौमती माध्यमिक विद्यालयका दुईजना शिक्षक — शंकर प्रसाद ढकाल र नेपाल शिक्षक महासंघ, सिन्धुलीका अध्यक्ष विष्णु प्रसाद फुयाँल — ले सरुवा आदेशलाई अन्यायपूर्ण भन्दै कार्यस्थलमै अनशन थालेपछि विषयले स्थानीय तहको शैक्षिक–राजनीतिक वातावरणलाई तताएको छ।
नगरपालिकाको साउन १६ गतेको शिक्षा समितिको बैठकले १५ जना शिक्षकहरूको सरुवा गर्ने निर्णय गरेपछि तीमध्ये १३ जना शिक्षकहरूले तोकिएको विद्यालयमा हाजिर गरिसकेका छन्। तर, बाँकी दुई शिक्षकले आफूहरूमाथि अन्याय भएको भन्दै सरुवा अस्वीकार गर्दै प्रतिवादको बाटो रोजेका हुन्।
यो विवादले विभिन्न शिक्षक संगठनहरूबीच धारणा विभाजनसमेत देखाएको छ। कसैले सरुवा प्रक्रिया पारदर्शी नभएको दाबी गर्दै अनशनको समर्थन गरेका छन् भने, कोही अनशनलाई व्यक्तिगत निर्णय भन्दै संघको आधिकारिक हैसियत नदिने पक्षमा छन्। अर्कातर्फ, नगरपालिकाले भने सरुवा प्रक्रिया नियमनसम्मत, नियमित र गुणस्तर सुधारका लागि भएको जिकिर गरिरहेको छ।
यस्तो परिस्थितिमा, अनशनमा बसेका शिक्षकहरूको पक्ष र विपक्षमा विभिन्न शिक्षक नेताहरूको धारणा यस्तो छ :
अनशन व्यक्तिगत निर्णय हो, पेशागत संघसँग कुनै सरोकार छैन’ —अरुण कुमार थिङ
नेपाल शिक्षक संघ सिन्धुलीका अध्यक्ष अरुण कुमार थिङले शिक्षकहरूको सरुवा विरुद्धको अनशन पेशागत संघको सल्लाहबिना भएको भन्दै आफूहरूलाई जानकारी नै नभएको स्पष्ट पारेका छन्।
नेपाली कांग्रेस निकट शुभेच्छु संस्था नेपाल शिक्षक संघका अध्यक्ष थिङले अनशनको विषयमा आफूलाई पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट मात्र थाहा भएको बताए। “यो निर्णय प्रक्रियामा के के भयो भन्ने पनि मैले राम्रोसँग बुझ्न पाएको छैन,” उनले भने, “शिक्षक साथीहरू अनशनमा बसेको कुरा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत मात्रै थाहा पाएँ। पेशागत संघसंस्थासँग सल्लाह गरेर उहाँहरू अनशनमा बस्नुभएको होइन।”
अध्यक्ष थिङका अनुसार सरुवा प्रक्रिया पेशागत संघसंस्थाहरूको सहभागितामै भएको थियो। “मैले सुने अनुसार, सरुवा प्रक्रिया तय गर्दा विभिन्न पेशागत संघ–संस्थाका साथीहरू पनि सहभागी हुनुभएको थियो रे,” उनले भने, “अब संघ–संस्थाकै सहभागितामा भएको निर्णयलाई नैतिक रूपमा अस्वीकार गर्न मिल्दैन। यदि त्यस्तो निर्णय गलत थियो भने, त्यस प्रक्रियामा संघ–संस्थाले नै सहभागी हुन नहुन्थ्यो।”
उनले शिक्षकहरू संस्थागत रूपमा नभई व्यक्तिगत रूपमा अनशनमा बसेको दाबी गरे। “उहाँहरू पेशागत संघको हैसियतले होइन, व्यक्तिगत रूपमा अनशनमा बस्नुभएको हो भन्ने मैले बुझेको छु,” थिङले भने, “शिक्षक साथीहरू विद्यालयभित्रकै आन्तरिक विषय उठाएर विद्यालयमै अनशनमा बस्नुभएको छ। यदि सरुवाको विषयमा अनशन हो भने नगरपालिकासमक्ष बस्नु उपयुक्त हुने थियो।”
अध्यक्ष थिङले सरुवा प्रक्रिया नगरपालिकाको निर्णयमा मात्र नभई, शिक्षासम्बन्धी समितिको निर्णयबाट भएको उल्लेख गरे। “शिक्षा समितिमा पेशागत संघका प्रतिनिधिहरूको सहभागिता रहँदै आएको छ। त्यसैले सरुवा निर्णय प्रक्रियामा हाम्रो पनि परोक्ष संलग्नता देखिन्छ,” उनले भने।
उनले निष्कर्षमा थपे, “निर्णय प्रक्रियामा हाम्रै पेशागत संघका साथीहरूले हस्ताक्षर गरिसकेको अवस्थामा नैतिक रूपमा हामी अनशनको समर्थन गर्न सक्दैनौँ। त्यसैले उहाँहरूको व्यक्तिगत क्रियाकलापमा संस्थागत रूपमा धारणा दिन मिल्दैन।”
अनशनबारे जानकारी पाएको भए राम्रो हुन्थ्यो, अब संवादबाट समाधान खोजिनुपर्छ’ — गुण विक्रम कुँवर
शिक्षक सरुवाको विषयलाई लिएर अनशनमा बसेका शिक्षकहरूबारे नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुलीका अध्यक्ष गुणविक्रम कुँवरले अनशन सुरु गर्नु अघि जानकारी दिइएको भए राम्रो हुने बताएका छन्।
नेकपा एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कुँवरले अनशनबारे संस्थालाई पूर्वजानकारी नदिई गरिएको भन्दै अफ्ठ्यारो स्थिति सिर्जना भएको बताएका हुन्। “साथीहरूले यदि जानकारी गराएर अनशन सुरु गर्नुभएको भए राम्रो हुने थियो,” अध्यक्ष कुँवरले भने, “तर अहिले उहाँहरू जानकारी बिना नै अनशनमा बस्नुभएको छ।”
उनले हालसम्म संगठनको आधिकारिक धारणा तय नभएको र शिक्षक साथीहरूसँग परामर्श भइरहेको जानकारी दिए। “के गर्ने भनेर सरसल्लाह भइरहेको छ,” उनले भने, “अहिलेसम्म संगठनको तर्फबाट कुनै औपचारिक निर्णय भएको छैन।”
अध्यक्ष कुँवरले सरुवा भइसकेका शिक्षकहरू गइसकेको र बाँकी केही शिक्षक अनशनमा बसेको अवस्थामा नगरपालिकाले संवादको बाटो रोजेर समस्या समाधान गर्नुपर्ने बताए। “नगरपालिका सबै शिक्षकहरूको अभिभावक हो,” उनले भने, “अब संवाद गरेर निकास निकाल्नुपर्छ।”
उनले आगामी दिनमा शिक्षक सरुवा र दरबन्दी मिलान प्रक्रिया अझ वैज्ञानिक र पारदर्शी बनाइनुपर्नेमा पनि जोड दिए। “अबका दिनमा सरुवा र दरबन्दी मिलान वैज्ञानिक बनाओस् भन्ने हाम्रो चाहना छ,” कुँवरले भने।
‘शिक्षक सरुवामा अन्याय भयो, अनशनमा हाम्रो समर्थन छ’ —सन्तोष कुमार श्रेष्ठ
एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले हालै गरिएको शिक्षक सरुवालाई मनोमानी र पक्षपातपूर्ण भन्दै सरुवाविरुद्ध अनशन बसेका शिक्षकहरूप्रति ऐक्यबद्धता जनाएका छन्।
नेकपा माओवादी केन्द्र निकट यो शिक्षक संगठनका जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार, शिक्षक सरुवा प्रक्रिया नियमित कार्यविधिअनुसार नभई राजनीतिक दबाबमा गरिएको हो। “नगर शिक्षा समितिको बैठकमा दुईवटा एजेन्डा मात्रै थियो — दरबन्दी मिलान कार्यदल गठन र एक शिक्षकको व्यवस्थापन,” श्रेष्ठले भने, “तर कार्यदल गठन नगरी नगरप्रमुख र केही वडाध्यक्षको दबाबमा शिक्षकहरूको सरुवा गरियो।”
उनका अनुसार सरुवा गरिएका १५ शिक्षकमध्ये १३ जनाले आफूलाई अनुकूल स्थान पाएका कारण कार्यक्षेत्रमा पुगेका छन्। “दुई जनाले मात्र सरुवा गलत भएको महसुस गरेर असहमति जनाउँदै अनशनमा बस्नुभएको छ,” श्रेष्ठले भने, “बहुमतले लाभ पाएको भन्दै एक–दुई जनामाथि अन्याय गर्न मिल्दैन।”
श्रेष्ठले अनशनरत शिक्षकहरूलाई पूर्ण समर्थन रहेको स्पष्ट पारे। “नगरपालिकाले शिक्षक महासंघका जिल्ला अध्यक्षलाई समेत जानकारी नदिई सरुवा गरेको छ,” उनले भने, “फुयाल सरजस्ता वरिष्ठ र योगदान पुर्याएका शिक्षकलाई यसरी बेवास्ता गरिएको छ भने अरूको के अवस्था होला भन्ने चिन्ता स्वाभाविक हो। नगरपालिकाले स्पष्ट अन्याय गरेको छ।”
उनले विशेष रूपमा शिक्षक शंकर प्रसाद ढकालको उदाहरण दिंदै भने, “शंकर सरले ३५ वर्षको उर्जाशील समय गौमतिमा बिताउनुभयो, कहिल्यै विद्यालयको अहितमा काम गर्नुभएन। त्यस्तो शिक्षकलाई एक्कासि सरुवा गरेर जानकारी पनि नगराउनु अन्याय हो।”
श्रेष्ठले विद्यालयमा बसेको अनशनले शैक्षिक वातावरणमा असर पर्न सक्ने विषयप्रति पनि संकेत गरे। “विद्यालयमै अनशन हुँदा शैक्षिक वातावरण असर गर्न सक्छ, समाजमा प्रश्न उठ्न सक्छ,” उनले भने, “तर यसको जवाफदेही सम्बन्धित शिक्षक नै बन्नुपर्नेछ। यो छलफलको विषय हो।”
उहाँले अन्त्यमा शिक्षा क्षेत्रको निर्णय प्रक्रिया पारदर्शी र विधिसम्मत बनाइनुपर्नेमा जोड दिँदै, “शिक्षक सरुवा र दरबन्दी मिलान प्रक्रिया दलीय प्रभाव होइन, वैज्ञानिक र न्यायोचित आधारमा हुनुपर्छ,” भने
‘यो म माथिको होइन, शिक्षक महासंघमाथिको प्रहार हो’ —विष्णु प्रसाद फुयाँल
शिक्षक महासंघ नेपाल, सिन्धुलीका अध्यक्ष विष्णु प्रसाद फुयाँलले आफूमाथिको सरुवालाई व्यक्तिगतभन्दा संस्थागत अपमानको रूपमा लिएका छन्। उनी हाल कमलामाई नगरपालिका–६ स्थित गौमती माध्यमिक विद्यालयमा रिले अनशनमा छन्।
कमलामाई नगरपालिकाले अध्यक्ष फुयाँललाई माध्यमिक विद्यालय ढुंग्रेवासमा सरुवा गरे पनि उनी आफू कार्यरत विद्यालयमै बसेर अनशन गरिरहेका छन्। सरकारद्वारा मान्यता प्राप्त शिक्षक ट्रेड युनियनका जिल्ला अध्यक्ष फुयाँलले “सरुवा प्रक्रिया न त शिक्षक महासंघसँग छलफलमा गरिएको हो, न नै प्रतिनिधि समावेश गरिएको हो,” भन्दै आपत्ति जनाएका छन्।
“महासंघको प्रतिनिधि अनिवार्यरूपमा रहने प्रक्रिया हुँदाहुँदै नगरपालिकाले एकपटक पनि नसोधी सरुवा गर्यो,” फुयाँलले भने, “शिक्षक महासंघलाई बेवास्ता गर्दै गरिएको यो निर्णयप्रति हामीले पटकपटक असन्तुष्टि जनायौँ। मेयर उपेन्द्र पोखरेललाई भेट्न कार्यालय पनि गयौँ, तर कहिल्यै भेट्नै पाइएन।”
फुयाँलले आफू स्वेच्छाले, विवेकपूर्वक र लोकतान्त्रिक अधिकार प्रयोग गर्दै अनशनमा बसेको बताए। “हामी रहरले होइन, अन्यायविरुद्ध अनशनमा बसेका हौँ,” उनले भने, “कसैले प्रश्न गर्छन् — नगरपालिकामा अनशन किन नगर्ने? तर जहाँ आफूलाई सुन्ने वातावरण छैन, त्यहाँ बस्ने औचित्य देखिन्न। त्यसैले कार्यस्थलमै अनशन रोज्यौँ।”
उनी ढुंग्रेवास सरुवा गरिएको विद्यालयलाई आफूले पहिल्यै पढाएको, घरनजिकको, आफन्तजनले स्थापना गरेको विद्यालय भएको बताउँछन्। “म सम्मान र गर्वका साथ जान सक्ने ठाउँ हो त्यो,” फुयाँलले भने, “तर कुरा स्थानको होइन, प्रक्रियाको हो। नगरपालिकाले शिक्षक महासंघलाई अवमूल्यन गर्दै गरिएको निर्णयविरुद्ध हामी उभिएका हौँ।”
उनका अनुसार विद्यालय व्यवस्थापन समितिमा नगरपालिकाले गैर–अभिभावक, राजनीतिक व्यक्तिहरूलाई अनावश्यक रूपमा प्रवेश गराउँदा समस्या उत्पन्न भएको हो। “हिजो हामी आफैले त्यस्ता व्यक्तिहरूलाई बोकेको हो, तर अब हामी त्यसको खारेजीमा छौँ,” उनले स्वीकृति जनाए।
फुयाँलले स्पष्ट रूपमा भने, “सरुवा भएका धेरै साथीहरू कार्यक्षेत्रमा गएर काम गरिसक्नुभएको छ। मैले पनि ‘तपाईंलाई निर्णय उपयुक्त लाग्छ भने जानुस्’ भनेको थिएँ। तर म आफैं भने जान्न तयार छैन।”
उनले अन्त्यमा जोड दिए, “यो मलाई मात्र होइन, सिंगो शिक्षक महासंघलाई कमजोर पार्ने प्रयास हो। त्यसैले यो प्रतिवाद ममात्रको होइन, संस्थागत हो।”
यो पनि पढ्नुस्ः
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया