बहुविवाहलाई वैधता दिन खोजिएको कानूनप्रति सिन्धुलीमा विरोध, अनेम संघको ज्ञापनपत्र

सिन्धुली, २१ साउन — सरकारले ‘विशेष परिस्थिति’ मा बहुविवाह गर्न पाइने गरी कानुनी व्यवस्था गर्न खोजेको विरोधमा सिन्धुलीमा आवाज उठेको छ।

सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) जिल्ला कमिटी सिन्धुलीले सोमबार प्रमुख जिल्ला अधिकारी दिनेश सागरभुषाल मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै प्रस्तावित कानुनी संशोधन तुरुन्त रोक्न माग गरेको हो।

संघकी जिल्ला अध्यक्ष कुमारी शान्ता तामाङ (पाख्री)को नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “पितृसत्तात्मक सोचले महिलालाई अधिकार, अवसर र निर्णय प्रक्रियाबाट टाढा राखेको अहिलेको अवस्थामा बहुविवाहलाई कानुनी मान्यता दिनु गम्भीर चिन्ताको विषय हो। यसले महिला समानतामाथि प्रहार गर्छ।”

अध्यक्ष पाख्रीले भनिन्, “महिलामाथि हुने विभेद अझै अन्त्य भएको छैन। यस्तो कानुनी व्यवस्था आयो भने महिलाको अस्तित्वमाथि नै प्रश्न उठ्नेछ। हामी संविधानले सुनिश्चित गरेका महिला अधिकारमा कुनै पनि किसिमको पछिल्लो कदम सत्ताबाट स्वीकार्दैनौं।”

ज्ञापनपत्रमा बहुविवाहजस्तो पुरानो, अन्यायपूर्ण र विभेदकारी प्रथालाई कानुनी जामा दिन खोजिएको भन्दै कडा आपत्ति जनाइएको छ। साथै गृह मन्त्रालयमार्फत संघले सम्बन्धित मन्त्रालयलाई सचेत गराउँदै यस्तो प्रस्ताव फिर्ता लिन माग गरेको छ।

अनेम संघले यस्ता कानूनले महिलालाई फेरि दाससरह व्यवहार गर्न बाटो खोल्ने र समाजमा गलत सन्देश जाने चेतावनी समेत दिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर