‘सरुवा अस्वीकार गरे कारबाही हुन्छ’ — मेयर पोख्रेल

सिन्धुली , २१ साउन — कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलले सरुवा अस्वीकार गर्दै अनशनमा बसेका दुई शिक्षकलाई तत्काल तोकिएको विद्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्न आग्रह गरेका छन्। बुधबारदेखि अनशनमा बसेका गौमती माध्यामिक विद्यालयका शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले सरुवा आदेशलाई अस्वीकार गर्दै विद्यालयमै आमरण अनशन सुरु गरेका थिए।
मेयर पोख्रेलले शिक्षाको गुणस्तर सुधार तथा प्रणालीलाई चलायमान बनाउन शिक्षक सरुवा गरिएको स्पष्ट पारेका छन्। “स्थानीय सरकारले आवश्यकता ठानेर नियमानुसार सरुवा गरेको हो। यसमा कुनै पूर्वाग्रह छैन,” पोख्रेलले भने, “यो नियमित प्रक्रिया हो।”
उनले नेपाली समाजमा प्रचलित एक पुरानो भनाइ सम्झँदै सरुवा स्थिरता तोड्ने र प्रणालीलाई सक्रिय बनाउने उपाय भएको तर्क गरे। “पानी पनि एकै ठाउँमा जिमिरह्यो भने सड्छ भन्ने भनाइ छ,” मेयर पोख्रेलले भने, “शिक्षकहरू पनि लामो समय एउटै स्थानमा बस्दा प्रेरणा, ऊर्जा र सिर्जनशीलता हराउने जोखिम हुन्छ। स्थानान्तरणबाट फरक अनुभव र चुनौतीहरू सामना गर्दै शिक्षकले आफूलाई थप निखार्न सक्नेछन्।”
ढकाल २०४७ सालदेखि र फुयाँल विगत ११ वर्षदेखि सोही विद्यालयमा कार्यरत छन्। उनीहरू दुबैले सरुवा अस्वीकार गर्दै नगरपालिकाको निर्णयको विरोधमा अनशन सुरु गरेका हुन्। तर मेयर पोख्रेलले शिक्षक सरुवा प्रक्रियामा पारदर्शिता अपनाइएको भन्दै बहुसंख्यक शिक्षकहरूले सरुवा स्वीकार गरी जिम्मेवारी सम्हालिसकेको उल्लेख गरे।
“हामीले सरुवा गरेका अधिकांश शिक्षकहरू तोकिएको विद्यालयमा गइसकेका छन्। उनीहरूलाई म धन्यवाद दिन चाहन्छु। अनशनमा बस्नु भएका विष्णु जी र शंकर जी पनि चाँडै नै कार्यक्षेत्रमा फर्किएर योगदान गर्नुहुनेछ भन्ने आशा राखेको छु,” उनले भने।
तर यदि उनीहरूले तोकिएको ठाउँमा नजाने अडान कायमै राखे भने नगरपालिका बाध्य भएर कडा कारबाहीमा जानुपर्ने मेयर पोख्रेलले चेतावनी दिएका छन्। “नगरपालिकाको निर्णय उल्लंघन भएमा तलब रोकुवा, निलम्बन लगायतका आवश्यक प्रक्रिया अघि बढाइनेछ,” पोख्रेलले स्पष्ट पारे।
फुयाँल र ढकाल दुवैजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीका आधारमा सरुवा गरिएको पृष्ठभूमिमा यो विवाद चर्किएको हो। मेयर पोख्रेलले नगरपालिकाको निर्णय कानुनी, प्रशासनिक र नैतिक हिसाबले उचित भएको दोहोर्याउँदै त्यसको पालना नगरे परिणाम दु:खद हुने चेतावनी दिएका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया