नगरपालिका भन्दा ठूला गुरु? निर्णय उल्ट्याउन अनशन सुरु…

सिन्धुली, २१ साउन — कमलामाई नगरपालिकाको शिक्षक सरुवा निर्णयविरुद्ध गौमती माध्यामिक विद्यालयका दुईजना शिक्षकले विद्यालयमै अनशन सुरु गरेका छन्। शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले सरुवा आदेशलाई अन्यायपूर्ण भन्दै बुधबारदेखि विरोधस्वरूप विद्यालयमै आमरण अनशन सुरु गरेका हुन्।
२०८२ साउन १६ गते नगरपालिकाको शिक्षा समितिको बैठकले विभिन्न तहका १५ शिक्षकहरूको सरुवा गरेको थियो। सो निर्णयअनुसार ढकाललाई जनज्योति मावि, फोर्सेटार र फुयाँललाई कमला माध्यामिक विद्यालय, ढुंग्रेवारमा सरुवा गरिएको हो। अधिकांश शिक्षकले तोकिएको विद्यालयमा हाजिर गरिसकेका छन् भने ढकाल र फुयाँलले भने निर्णय अस्वीकार गर्दै अनशन सुरु गरेका छन्।
ढकाल २०४७ सालदेखि सोही विद्यालयमा कार्यरत छन् भने फुयाँलले पछिल्लो ११ वर्षदेखि कार्यरत रहँदै आएका छन्। आफूहरूले लामो समयसम्म एउटै विद्यालयमा सेवा दिँदा पनि सम्मानजनक व्यवहार नभएको र जानकारीबिना सरुवा गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
तर नगरपालिकाको शिक्षा शाखाले भने सरुवा प्रक्रिया वैधानिक र आवश्यकताको आधारमा गरिएको स्पष्ट पारेको छ। संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, शिक्षा ऐन २०७४ तथा नियमावली २०७५ अनुसार नगरपालिकाले रिक्त दरबन्दी तथा विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ। सोहीअनुसार शिक्षा शाखाको सिफारिस र नगर प्रमुखको स्वीकृतिमा सरुवा निर्णय गरिएको अधिकारीहरूको भनाइ छ।
उक्त निर्णयको पृष्ठभूमिमा दुबै शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीहरू पनि रहेका छन्।
ढकालमाथि विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर नियमविपरीत मासिक ३ हजार ५ सय रूपैयाँ सहायक प्रधानाध्यापक भत्ता लिएको आरोप छ — जबकि कानुन अनुसार प्रधानध्यापकले समेत अधिकतम ५ सय रूपैयाँ मात्र भत्ता खान पाउँछन् ।
त्यस्तै, फुयाँलमाथि नियमित पठनपाठनको समयमा अर्को विद्यालयमा गएर पढाउने र अदालतमा वकालत गर्ने गरेको उजुरी अख्तियारमा परेको छ।
शिक्षा शाखाका एक अधिकारीका अनुसार, यी उजुरीकै कारण उनीहरूको सरुवा गरिएको हो। “अख्तियारले कमलामाई नगरपालिकालाई फुयाँल र ढकालको बारेमा पाँच पटकभन्दा बढी पत्र पठाएर स्पष्टिकरण मागेको छ,” ती अधिकारीले भने, “त्यसकै आधारमा नगरपालिकाले उनीहरूलाई विवादरहित विद्यालयमा सरुवा गरेको हो।”
तर सरुवाविरुद्ध अनशनमा बसेका दुबै शिक्षकले स्थानीय सरकार प्रणालीमाथि नै प्रश्न खडा गरेका छन्। विद्यालयको शैक्षिक वातावरणमा असर पार्ने गरी अनशन बस्नु, वैधानिक प्रक्रिया अस्वीकार गर्नु र जिम्मेवारीबाट पन्छिन खोज्नु गम्भीर विषय भएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
नगरपालिका शिक्षा शाखाले सरुवा कार्यान्वयन नगरे कडा कारबाहीको चेतावनी दिइसकेको छ। अब अनशनरत शिक्षकहरू आफ्ना मागमा अडिग रहने छन् वा कानुनी प्रक्रिया स्वीकार्ने छन् भन्ने कुराले घटनाको अर्को मोड दिने देखिएको छ।
तर हाल अनशनमा उत्रिएका दुबै शिक्षकले उक्त सबै आरोप अस्वीकार गर्दै आफूहरूलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास भएको दाबी गरेका छन्। उनीहरूले ‘अन्यायपूर्ण निर्णय फिर्ता नभएसम्म अनशन जारी रहने’ घोषणा गरेका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया