भारत पुर्‍याएर मिर्गौला झिकियो, नेपाल फर्किँदासम्म थाहा नै पाएनन्

सिन्धुलीको दुधौली नगरपालिका–१ का ४० वर्षीय खिलबहादुर भुजेलको मिर्गौला भारतमा झिकिएको खुलेको छ। लामो समयदेखि सम्पर्कविहीन रहेका उनी शनिबार मात्रै घर फर्किएका थिए। घर फर्किँदा उनको पेटमा पट्टी बाँधिएको थियो र स्वास्थ्य अवस्था समेत नाजुक थियो।

आइतबार साँझ भाउजू सीता माझीसँग भेट हुँदा उनले पेटको घाउ देखाउँदै भने, “यहाँ धेरै दुखिरहेको छ, के भयो थाहा छैन।” जब ब्यान्डेज खोलेर घाउ हेर्ने प्रयास गरियो, पेटमा ३० वटा टाँका लगाइएको देखियो। भोलिपल्ट उनलाई डकाहामा रहेको समिट माउन्टेन हस्पिटल लगियो। चिकित्सक डा. नवीन बयरले भिडियो एक्स–रेमार्फत परीक्षण गर्दा उनको देब्रे मिर्गौला नभएको देखियो। मिर्गौला झिकिएको थाहा पाएपछि चिकित्सकले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

भुजेलको परिवारका अनुसार, उनी केही समयअघि पोखरामा सडक निर्माणको काम गर्दै थिए। त्यही बेला एक अपरिचित व्यक्तिले राम्रो तलबको काम लगाइदिने प्रलोभन देखाएर भारत पुर्‍याएका थिए। भारतमा लगेर उनलाई एक अज्ञात स्थानमा राखियो, जहाँ दिनदिनै भाँडा माझ्न र सरसफाइ गर्न लगाइन्थ्यो। त्यहाँ उनलाई महिनादिन थुनेर राखिएको थियो। एकदिन उनले काम नगर्ने इच्छा व्यक्त गरेपछि भोलिपल्ट एक कालो गाडीमा हालेर कतै लगिएको र त्यसपछि मात्रै काठमाडौंको कलंकीमा होश आएको उनले परिवारलाई बताएका छन्।

कलंकीमा झरेपछि उनी रातभर हिँडेर पुराना मजदुर साथीकोमा पुगे। ती साथीले उनलाई घरसम्मको टिकट काटेर १५ सय रुपैयाँ साथमा दिए। त्यसपछि बल्ल उनी सिन्धुली फर्किएका थिए।

घर फर्किएपछि मात्र मिर्गौला झिकिएको थाहा भएको परिवारले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था कमजोर छ भने मानसिक रूपमा समेत असहज देखिन्छन्। उनले बारम्बार “के भयो थाहा छैन” मात्र भन्ने गरेका छन्।

भुजेलको परिवारले सोमबार स्थानीय प्रहरीमा औपचारिक उजुरी दिएको छ। तर भारतमा कसले लग्यो, कहाँ राखियो भन्ने अझै खुल्न सकेको छैन।

सामान्य मजदुरी गरेर गुजारा चलाउने भुजेलको परिवार अहिले अन्योलमा परेको छ। “पहिले पनि पाल्न गाह्रो थियो, अब त ज्यानै कसरी बचाउने हो भन्ने पीर लागेको छ,” भन्छिन् भाउजू सीता। (उकालोबाट साभार)


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर