‘संसद उभिएर नाटक गर्ने थलो होइन’ — काँग्रेसको आक्रोश

काठमाडौँ । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको निरन्तर संसद अवरोधप्रति कडा आपत्ति जनाउँदै संसदलाई “नाटक गर्ने थलो” बनाइएको आरोप लगाएको छ। काँग्रेसले संसदको मर्यादा जोगाउन यस्ता अभ्यास तुरुन्त बन्द गर्नुपर्ने स्पष्ट चेतावनी दिएको छ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै काँग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले विपक्षी दलहरू — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) — संसदको दुरुपयोगमा लागिरहेको आरोप लगाए। उनले संसद बारम्बार अवरुद्ध गर्ने परिपाटी लोकतान्त्रिक अभ्यास विपरीत भएको बताए।
‘झन्डै ७० दिन भयो — संसद सुरु हुनेबित्तिकै अवरोध, आफ्नो कुरा राख्ने र त्यसपछि बैठक बहिष्कार गर्ने। संसद उभिएर गालीगलौज गर्ने र रोहबरशैलीमा नाटक गर्ने थलो होइन,’ घिमिरेले कडा लहजामा भने, ‘यस्तो अभ्यास अब तुरुन्त अन्त्य हुनुपर्छ।’
उनले भिजिट भिसाको नाममा मानव तस्करी भएको भन्ने दावीहरू तथ्यहीन र भ्रम सिर्जना गर्ने शैलीमा प्रस्तुत गरिएको दाबी गरे। ‘भिजिट भिसामा विदेश नगएकालाई पनि मानव तस्करीमा जोडेर संसदमा झुटा आरोप लगाउने काम भइरहेको छ। जनतालाई गलत सन्देश दिने यस्तो अभ्यासले लोकतन्त्र कमजोर हुन्छ,’ घिमिरेले भने।
काँग्रेसले संसदको गरिमा र प्रभावकारिता जोगाउन सभामुखसँग यस्ता गतिविधिहरूलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया