अन्ततः पोखरा पुगेका हायु परिवार सिन्धुली फर्किँदै,

सिन्धुली, १९ साउन — केही दिनअघि गाउँको घर, गोठ र सबै त्यत्तिकै छाडेर पोखरा पुगेकी उर्मिला हायूको परिवार अन्ततः फेरि आफ्नो गृहजिल्ला सिन्धुली फर्किन तयार भएको छ।
गोलन्जोर गाउँपालिका–६ को छेत्पा नजिकैको भण्डास विप्पर कटेरीस्थित सडक, अस्पताल, विद्यालयजस्ता आधारभूत सेवाबाट टाढिएको गाउँकी उर्मिला र उनका १६ सदस्यीय परिवार साउन ९ गते रातारात गाउँ छाडेर हिँडेका थिए।
उनीहरू पोखरा पुगेपछि परिवार सम्पर्कविहीन भएको भन्दै सञ्चारमाध्यमहरूले समाचार प्रकाशित–प्रसारित गरेका थिए। यसले देश–विदेशका नेपाली समुदायको ध्यान खिचेको थियो।
ती परिवारलाई लिन वडाध्यक्ष रविन श्रेष्ठ स्वयं हवाईमार्ग हुँदै सोमबार बिहान (आज) काठमाडौँबाट पोखरा पुगेका हुन्। श्रेष्ठ पोखरा महानगरपालिका–३२, गगनगौंडा पुगेर परिवारलाई स्वागत गर्दै उनीहरूलाई काठमाडौँ हुँदै सिन्धुली ल्याउने तयारीमा छन्।
वडाध्यक्ष श्रेष्ठका अनुसार, हायूपरिवारलाई अस्थायी रूपमा केही समयका लागि सुंगुरेमा राखिनेछ। त्यसपछि स्थायी बसोबासका लागि उपयुक्त ठाउँको पहिचान गरी व्यवस्थापन गरिने उनले माईशिरलाई जानकारी दिए।
२०७८ सालको जनगणनाअनुसार, हायू जातिको जनसंख्या जम्मा ३ हजार ६९ मात्र रहेको छ। अल्पसंख्यक र सुविधाबाट बञ्चित यो समुदायको पुनःस्थापनाका लागि स्थानीय तहले चालेको यो कदम समुदायमै सकारात्मक सन्देश बनेको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया