देवकोटाको संयोजकत्वमा निजी स्वास्थ्य व्यवसायी संघ, सिन्धुलीको तदर्थ समिति गठन

सिन्धुली, १७ साउन — जिल्लामा निजी स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय व्यवसायीहरूको साझा संस्था निजी स्वास्थ्य व्यवसायी संघ, सिन्धुली गठन गरिएको छ। शनिबार सिन्धुलीमाढीमा सम्पन्न व्यवसायीहरूको प्रथम भेलाले केशव प्रसाद देवकोटाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
संघको सहसंयोजकमा सर्मिला माझी, सचिवमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा ताराबिक्र थापा चयन भएका छन्। यस्तै सदस्यहरूमा भुवन राई, डा. जगदिश कार्की, सरोज गिरी, जयराम काफ्ले र बब्लु चौधरी रहेका छन्।
संघ गठनको उद्देश्य निजी स्वास्थ्य व्यवसायीहरूबीच एकता, समन्वय र सहकार्य स्थापित गर्दै स्वास्थ्य सेवा क्षेत्रको गुणस्तर वृद्धि, सेवा प्रवाहलाई व्यवस्थित बनाउने र व्यवसायीहरूको हक–हितको संरक्षण गर्ने रहेको छ।
संस्थाको संरचना र सञ्चालनलाई औपचारिक बनाउने लक्ष्यसहित विधान निर्माणका लागि केशव प्रसाद देवकोटाको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरिएको छ। समितिमा डा. जगदिश कार्की, माधव देवकोटा, हरिकुमार श्रेष्ठ र रविनमबन श्रेष्ठ सदस्य रहेका छन्।
संघले अबको चरणमा सदस्यता विस्तार, विधान पारित र दर्ता प्रक्रिया अघि बढाउने तयारी गरिरहेको संयोजक देवकोटाले जानकारी दिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया