सिन्धुली र रामेछापमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

सिन्धुली, १७ साउन — लगातारको वर्षासँगै सिन्धुली र रामेछापका विभिन्न खोलामा आकस्मिक बाढीको जोखिम देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।

विभागले आज बिहान विशेष सूचना जारी गर्दै सिन्धुलीको मरिन खोला, ग्वाङ खोला लगायतका साना खोलामा आकस्मिक बाढी आउन सक्ने जनाउँदै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरेको हो।

वर्षा मापन अनुसार सिन्धुलीको मरिणखोला क्षेत्रको कुसुमटार, सिन्धुलगढी र रामेछापको मन्थली एयरपोर्ट आसपासमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको  छ। जसका कारण ती क्षेत्रमा साना नदी तथा खोल्सामा पानीको बहाव एक्कासी बढ्न सक्ने अनुमान गरिएको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेकोले बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशहरुमा पनि आंशिक वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै, देशका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन विभागले आह्वान गरेको छ।

स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन र बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न विभागले अनुरोध गरेको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर