कोदो एक: विशेषता अनेक

कोदो सुन्ने बित्तिकै तपाईँको मनमा के आउँछ ? अधिकांश व्यक्तिको जवाफ आउँछ कोदोको रक्सी, कोदोको जाँड, कोदोको झोल, कोदोको तीन पाने, चार पाने तर केही व्यक्तिले यसलाई पौष्टिक महत्वले भरिपूर्ण खाद्य वस्तुको रूपमा लिएको पाइन्छ भन्ने धेरैले कोदोलाई आफ्नो बाल्यकालसँग जोडेर कोदो रोपेको कोदोको रोटी कोदोको ढिँडो र लोकल कुखुराको मासु खाएको याद गर्ने गरेको पाइन्छ ।
नेपालको प्रमुख खाद्यान्न बालीहरूमा धान मकै र गहुँ पछिको चौथो प्रमुख खाद्यान्न बालीको रूपमा कोदो बाली रहेका छन् । नेपालको तराइदेखि समुन्द्र सतहबाट ३१०० मिटर सम्मको उच्च पहाडी क्षेत्रसम्म कोदो खेती लगाइन्छ । नेपालको ७७ वटै जिल्लाहरूमा कोदो खेती गरिएको पाइए तापिन सबैभन्दा धेरै कोदो खेती हुने जिल्लाहरूमा क्रमशः खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा र सिन्धुली पर्दछ भने सबैभन्दा थोरै क्षेत्रफलमा कोदो खेती गरिने जिल्लाहरूमा क्रमशः मनाङ र मुस्ताङ पर्दछन् । हालको वर्षहरूमा नेपालको कोदो उत्पादनले आत्मनिर्भर हुन सकेको छैन । बर्सेनि कोदोको आयात बढेको छ । आ.व. ०७९/८० मा मात्र ७३ करोड ३२ लाख बराबरको १८४०३ मे.टन कोदो विदेशबाट आयात भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ असार २३ गतेको बैठकले हरेक वर्ष श्रावण महिनाको १६ गतेका दिन राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरे बमोजिम यस वर्ष “कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस २०८२ भव्यताका साथ देशैभरि मिति २०८२ श्रावण १६ गते मनाउन लागिरहेको छ । यसै सन्दर्भमा कोदो बालीको विशेषताको बारेमा केही चर्चा गर्न खोजिएको हो ।
खाद्य सुरक्षाका लागि कोदो
प्रायजसो सीमान्त जमिनमा खेती गरिने कोदो बालीले खाद्य तथा पोषण सुरक्षामा ठुलो योगदान पुर्याएको छ । कोदो बाली अन्य बालीको तुलनामा कम लागतमै उत्पादन लिन सकिन्छ । अन्य खाद्यान्नको तुलनामा कोदोको भण्डारणमा रोग तथा किराहरूले अत्यन्त न्यून क्षति गरेका हुन्छन् । कोदोलाई राम्ररी सुकाएर लामो समयसम्म भण्डारण गर्न सकिन्छ जसले गर्दा जुनसुकै बेला खाद्य संकट आइपर्दा यसलाई उपभोग गर्न सकिन्छ । नेपालका दुर्गम पहाडी भेगहरूमा धान उत्पादन नहुनु, बाहिरबाट ढुवानी गरेर चामल लैजान ज्यादै कठिन हुनुले स्थानीय स्तरमै उत्पादन हुने कोदो बालीले सो समस्या केही हदसम्म भए पनि समाधान गर्न मदत पुगेको छ ।
मानव स्वास्थ्यको लागि कोदो
क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने हुनाले कोदोलाई केटाकेटी देखि बुढा बुढीसम्मको लागि उत्तम खानाको रूपमा लिइन्छ । गर्भवती महिलाहरूको लागि पनि कोदो पोषीलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखालाको रोगीहरूको लागि पनि यो अति राम्रो मानिन्छ । कोदोको उपयोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । अहिले नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदो सेवन मानव स्वास्थ्यको लागि एक विशेष खानाको रूपमा रहेका छन् ।
जलवायु अनुकूलन बालीको रूपमा कोदो
जलवायु परिवर्तन सँगै भित्रिएका विश्वव्यापी समस्याहरू जस्तै खडेरी, सुख्खा, अतिवृष्टि, नयाँ नयाँ रोग र कीराहरू आदीबाट धान, मकै, गहुँ जस्ता प्रमुख खाद्यान्न बालीहरूले जुध्न नसकिरहेको अवस्थामा कोदो बालीले सानो लगानीबाट प्रतिकूल अवस्थामा पनि नियमित उत्पादन दिने हुनाले यसलाई जलवायु अनुकूलित बालीको रूपमा प्रयोग गर्न सकिन्छ ।
अर्ग्यानिक र वातावरणमैत्री बाली कोदो
हाम्रा कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले उत्पादन गर्ने कोदो अर्ग्यानिक छ । यो बालीमा किसानहरूले कुनै किसिमको रासायनिक मल र विषादीको प्रयोग गर्दैनन् । विभिन्न किसिमका रासायनिक मल र विषादीहरूको असन्तुलित तथा जथाभाबी प्रयोगबाट मानव स्वास्थ्य र समग्र वातावरणमा पर्ने नकारात्मक प्रभावबाट कमसेकम हाल खेती भइरहेको कोदो बाली मुक्त छ । भविष्यमा पनि बढीभन्दा बढी गोठे मल र जैविक मलहरूको प्रयोग गर्दै कोदो बालीलाई अर्ग्यानिक र वातावरणमैत्री बनाएर यसको उत्पादनमा दिगोपना ल्याउनु आवश्यक देखिन्छ ।
पशु आहाराको लागि कोदो
अन्नको अतिरिक्त कोदोको नल गाई भैँसीको लागि अति पोषीलो हुनुका साथै घाँसको अभाव हुने हिउँदे मौसममा कोदोको नलको हे तथा साइलेज अत्यन्त राम्रो मानिन्छ । यसबाट हिउँदमा दुधालु पशुको दूध उत्पादनमा कमी हुन पाउँदैन । कोदोको हरियो नल पशुहरूले रुचाएर खान्छन् । यसको पौष्टिक गुणस्तर पराल वा गहुँको छ्वाली भन्दा धेरै उच्च हुन्छ । कोदोमा धेरै पौष्टिक तत्त्व तथा तामसी गुण पनि भएको कारणले गर्दा अलि लोसे खालका ब्याडे बोका साँढे तथा राँगाहरूलाई कोदो खुवाउने प्रचलन रहिआएको पाइन्छ । कोदोसँग जोडिएका यस्ता परम्परागत ज्ञानहरूलाई पनि सदुपयोग गर्दै संरक्षण र प्रवर्द्धन गर्न जरुरी छ ।
कोदोमा पाइने खाद्यतत्त्व र फाइदाजनक विशेषताको बारेमा जनचेतना अभिवृद्धि, प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कोदोको परिकार विविधीकरण गरी खाने बानी लगाएर आकर्षित गर्न सकिन्छ । यसो भए स्थानीय बालीको सदुपयोग र खाद्य सुरक्षा कायम हुन्छ । तसर्थ कोदो बालीको उत्पादन तथा प्रवर्द्धनमा काम गर्ने सबै सङ्घसंस्था तथा सरोकारवालाबिच समन्वय र सहकार्य गरी अगाडि बढ्नु आजको आवश्यकता हो ।
(चन्द्रकान्त चौधरी गोलन्जोर गाउँपालिकामा कार्यरत कृषि अधिकृत हुनुहुन्छ । )
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया