मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसमा निजामती संगठनको जीवन बचाउने पहल

सिन्धुली, १५ साउन — शहीदको सम्झनामा अब कागजी औपचारिकता होइन, जीवन बचाउने पहल! एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, सिन्धुलीले मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२ सामाजिक उत्तरदायित्वसँग जोड्दै दुई जना गम्भीर बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पदम बहादुर मगरको प्रमुख आतिथ्यमा जनही ३० हजार ४३३ रुपैयाँका दरले दुई जना बिरामीका परिवारलाई कुल ६० हजार ८६६ रुपैयाँ सहयोग गरिएको हो। संगठनका अध्यक्ष डिल्ली सौगात घिमिरे र इन्चार्ज पदम बहादुर मगरले बिरामीको आफन्तलाई उक्त रकम हस्तान्तरण गरेका थिए।
सहयोग पाउनेमा सडक दुर्घटनापछि २८ महिनादेखि सिन्धुली अस्पतालमा कोमामा रहेका कमलामाई नगरपालिका–७ का तेजबहादुर सिंजाली र क्यान्सर तथा नसासम्बन्धी रोगले ग्रस्त मालपोत कार्यालय डिल्लीबजारका कम्प्युटर अपरेटर उद्धव ढुंगेल रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि पदम बहादुर मगरले भने, “शहीदहरूको सपना र बलिदानलाई सम्झिने आजको दिनमा हामीले सामाजिक पीडामा परेका नागरिकलाई साथ दिनु नै सच्चा श्रद्धाञ्जली हो। संगठन केवल पेसागत हैन, मानवीय सेवामा पनि अगाडि रहनुपर्छ भन्ने सोचसहित हामी अघि बढिरहेका छौँ।”
कार्यक्रममा बागमती प्रदेश सचिवद्वय प्रभुनाथ प्याकुरेल र दीपक तिम्सिना, युनियनका जिल्ला अध्यक्ष दिनेश पोखरेल, जलस्रोत तथा सिँचाइ डिभिजनका प्रमुख कृष्ण पाण्डे, कोष नियन्त्रक हरिहर शर्मा तिवारी, विभिन्न कार्यालय प्रमुख तथा कर्मचारीहरू सहभागी थिए।
स्मृति दिवसलाई औपचारिकता र भाषणको घेराबाट बाहिर निकाल्दै सङ्गठनले पीडितप्रतिको समवेदना र प्रत्यक्ष सहयोगमार्फत यो दिवसलाई सन्देशमूलक बनाएको कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष डिल्ली सौगात घिमिरेले जनाए। त्यस्तै एमाले सिन्धुली अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र नेता प्रदीप कटुवालको पनि कार्यक्रममा उपस्थिति थियो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया