यसरी जोगिँदैछ मुख्यमन्त्री लामाको सरकार! सत्ता समीकरण उल्ट्याउने ‘मौन शक्ति’ को खेल

हेटौंडा — बागमती प्रदेशको सत्ता समीकरण लगातार उल्टपल्ट भइरहँदा पनि मुख्यमन्त्री बहादुरसिंह लामाको सरकार हालसम्म सुरक्षित देखिन्छ। कांग्रेसभित्रको चिरा, एमालेको रणनीतिक अस्पष्टता, र माओवादीको मौन समर्थनले लामाको कुर्सी गम्भीर संकटमा नपर्ने संकेत दिन थालेको छ।

प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका ३७ सांसदमध्ये २२ जना इन्द्र बानीयाँ पक्षमा छन् भने बाँकी १५ जना लामाको पक्षमा। बानीयाँले एमालेसँग मिलेर नयाँ सरकार बनाउने प्रयास थालेका छन्। एमालेसँग २९ सांसद छन्। यी दुई मिलेर ५१ मत मात्रै पुग्छ, तर बहुमतका लागि अझै ५ मत अपुग हुने हुँदा बहादुरसिंह लामाको साथ अपरिहार्य बन्छ। यस अर्थमा बानीयाँलाई सरकार बनाउन लामा समूहका कम्तीमा ५ सांसद तान्नैपर्छ। कि त अन्य दलहरू नेमकिपा र हाम्रो नेपाल पार्टीका ५ सांसदको विश्वास लिनुपर्ने हुन्छ ।

यता, कांग्रेस संसदीय दलले ह्वीप जारी गरे पनि लामाको पक्षमा रहेका सांसदले तटस्थता अपनाएर मतदानमा अनुपस्थित रहने रणनीति अपनाएमा न त बानीयाँ सरकार बनाउन सक्छन्, न त लामाको सरकार ढल्छ।

तर, लामाको सरकार ढाल्न अझै गाह्रो देखिन्छ। राप्रपाका १३, माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल मजदुर किसान पार्टीका ३, र हाम्रो नेपाल पार्टीका २ सांसद छन्। यदि यिनै दलहरू लामाको पक्षमा उभिए भनेपनि कांग्रेसको बानीयाँ पक्ष र एमाले मिलेर सरकार बनाउने स्थिति आउँदैन।

अझ रोचक कुरा के छ भने, एमाले हाल केन्द्रमा कांग्रेससँग सहकार्यमा सरकार सञ्चालन गरिरहेको छ भने बागमती प्रदेशमै सरकारमा सहभागी पनि छ। मन्त्री बनेका एमाले सांसदहरूले अझै राजीनामा दिएका छैनन्। उनीहरू केपी ओलीको निर्देशनको प्रतीक्षामा छन्। यही मौन उपस्थितिले लामाको सरकारलाई थप बल दिएको छ।

यसैबीच, माओवादी केन्द्रको भूमिका झन निर्णायक बन्दै गएको छ। संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भनेका छन्, “सरकार ढल्ने अवस्था आयो भने गम्भीर निर्णय गर्छौं।” यसले आवश्यक परेको खण्डमा माओवादी लामाको पक्षमा उभिन सक्छ भन्ने संकेत दिन्छ।

राप्रपाको मौनता पनि निर्णायक बन्न सक्ने अवस्थामा पुगेको छ। संघीय सरकारमा प्रतिपक्षमा बसेको राप्रपाले बानीयाँ नेतृत्वको कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने सम्भावना कम देखिन्छ। बरु उसले लामालाई समर्थन गरे वा तटस्थता कायम राखे पनि त्यसको फाइदा लामालाई नै पुग्छ।

यदि कांग्रेसको लामापक्ष (१५), माओवादी केन्द्र (२१), नेकपा एस (७), नेमकिपा (३), हाम्रो नेपाल पार्टी (२), र एमालेका केही सांसद लामाको पक्षमा उभिए भने विपक्षी गठबन्धनले बहुमत जुटाउन सक्दैन।

निष्कर्षमा, मुख्यमन्त्री लामाको सरकार प्रत्यक्ष बहुमतको बलमा नभएर ‘मौन समर्थन’, आन्तरिक फुट, र समीकरणको सूक्ष्म अंकगणितमा अडिएको देखिन्छ।
सत्ताको यो खेलमा ‘देखिने विरोधी’भन्दा खतरनाक बन्दै गएको छ ‘चुपचाप समर्थन’, जसले लामाको कुर्सीलाई टेको दिइरहेको छ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

-->

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर