मुख्यमन्त्री लामालाई माओवादीको ‘गुप्त समर्थन’? सत्ता जोगाउन पर्दा पछाडिको खेल!

हेटौंडा – बागमती प्रदेशमा राजनीतिक द्वन्द्व उत्कर्षमा पुगेको छ। कांग्रेसभित्रको खिचातानीले मुख्यमन्त्री बहादुरसिंह लामाको कुर्सी डगमगाए पनि उनी पद नछाड्ने अडानमा अडिग छन्। तर, आश्चर्यजनक रूपमा नेकपा माओवादी केन्द्र भने पर्दा पछाडिबाट लामाको सरकारलाई बचाउने संकेत गर्दै अघि बढेको देखिएको छ।
माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलको पछिल्लो अभिव्यक्तिले यो खेल अझ चाखलाग्दो बनेको छ। “अहिल्यै विघटनको अवस्था त छैन तर, भएमा गम्भीर भएर सरकारको पक्षमा विचार गर्छौं,” भन्दै उनले अप्रत्यक्ष रूपमा मुख्यमन्त्री लामालाई सघाउने संकेत दिएका छन्।
यस्तो बेला कांग्रेसभित्र नेतृत्वको लफडा चर्किएको छ भने एमाले मौका कुरेर बसेको देखिन्छ। तर, माओवादीले भने न मुख्यमन्त्रीको आलोचना गर्यो, न विकल्प खोज्यो। यसैले राजनीतिक वृत्तमा प्रश्न उठेको छ— के लामाको कुर्सी माओवादीकै आडमा टिकिरहेको हो?
जम्मकट्टेल भन्छन्, “बजेटमै समस्या थियो। माओवादीलाई त ठिकै छ, कांग्रेसकै सांसद असन्तुष्ट छन्। यस्तो बजेटमा संकट आउँछ भनेर पहिल्यै चेतावनी दिएको थिएँ।” उनले सत्ता समीकरण कांग्रेसभित्रैको कलहले बनाउने स्पष्ट पारे।
तर अब भने परिस्थिति उल्टो मोडतर्फ जाँदैछ। माओवादीको ‘न न भन्ने हो, न हो भन्ने होइन‘ शैलीले स्पष्ट संकेत दिएको छ— यदि लामाको सरकार ढल्ने भयो भने माओवादीले चुप लागेर हेरेर बस्नेवाला छैन।
राजनीतिक गल्लीमा चर्चा चल्न थालेको छ– “सत्ता जोगाउने अन्तिम अस्त्र माओवादी बन्न लागेका छन्!”
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया