२०५५ मा आत्मसमर्पण गरेका दाहाल अहिले ‘जनयुद्धको नायक’? सहिद पुत्रको प्रहार!

सिन्धुली — एकातिर माओवादी आन्दोलनका ‘गौरव’ भन्दै भाषण, अर्कातिर जनयुद्धकै बेला आत्मसमर्पण! नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद राजन दाहालमाथि सहिद परिवारका सन्तानले यस्तै गम्भीर प्रश्न उठाएका छन्।

दाहालले माओवादी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’सँग प्रतिस्पर्धा गर्न सक्ने बताउन थालेपछि सहिद महेन्द्र श्रेष्ठका छोरा कीर्तिक श्रेष्ठले सामाजिक सञ्जालमार्फत अतीत सम्झाएका छन्। श्रेष्ठले लेखेका छन्, “२०५५ साल असार २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेपछि २०६३ सालसम्म आफू कहाँ थिए भनेर याद गर्नुपर्दैन? त्यही जनार्दन शर्मासँग भिड्न खोजेर हुन्छ? त्यस्तो हैसियत पनि छ र?”

उनको तर्क स्पष्ट छ—जनयुद्धको कठिन मोडमा आन्दोलन छाडेर आत्मसमर्पण गर्ने दाहाल अहिले ‘आन्दोलनको गौरव’ भन्दै बोल्न लायक छैनन्।

शहीद महेन्द्र श्रेष्ठ माओवादी जनयुद्धको सुरुवाती चरणमै सैन्य र राजनीतिक नेतृत्वदायी भूमिकामा थिए। भारतमा तालिम लिएर फर्किएका श्रेष्ठसँगै उनका दाजु दीर्घराज श्रेष्ठ, गंगा श्रेष्ठ, कल्पना सुवेदी, ध्रुव देवकोटा लगायत थुप्रै नेता संघर्षमा होमिएका थिए।

यस्तै, अर्का सहिद पुत्र प्रतीक कार्कीले पनि फेसबुकमार्फत आक्रोश पोखेका छन्। उनले लेखेका छन्, “एउटा तप्का माओवादी पार्टीको नेतृत्व प्रचण्डले मात्र गर्न सक्ने भन्ने भ्रम फैलाइएको छ। यो पार्टी हजारौँ योद्धा र इमानदार जनताको सामूहिक योगदानले बनेको हो।”

उनले प्रचण्डको नेतृत्व कार्यकर्ताको विश्वासले टिकेको भन्दै अब सबैलाई समान अवसर दिनुपर्नेमा जोड दिएका छन्। “माओवादी युद्ध सरदारहरूको पार्टी हैन, यो मुक्ति योद्धाहरूको पार्टी हो,” कार्कीको टिप्पणी छ।

प्रतीकका पिता दिलकाजी कार्की २०५९ साल असारमा शाही सेनाको गोलीबाट खोटाङमा सहादत प्राप्त गरेका थिए। त्यसै कारण उनले ‘शहिद पुत्र’को हैसियतमा नेतृत्व चयनमा इमानदारिताको माग गरेका छन्।

अब प्रश्न उठेको छ — जनयुद्ध छाडेर आत्मसमर्पण गर्ने पात्रहरू नै के जनआन्दोलनको नेतृत्व गर्न योग्य छन्? शहीद सन्तानहरूको यो प्रश्न माओवादी पार्टीभित्रको नेतृत्व बहसमा ठुलो चुनौती बन्नसक्ने देखिएको छ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

-->

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर