बहादुरसिंह लामालाई उछिन्दै इन्द्र बानियाँ कांग्रेस संसदीय दलको नेतामा निर्वाचित!

हेटौंडा, १४ साउन — बागमती प्रदेशको राजनीति फेरि एकचोटि तातिएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतृत्वमा परिवर्तन भएको छ। इन्द्र बानियाँ अब कांग्रेस संसदीय दलका नयाँ नेता बनेका छन्।
आज हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले आफ्नो पुरानो प्रतिस्पर्धी तथा तत्कालीन नेता बहादुरसिंह लामालाई पराजित गर्दै विजय हाँसिल गरेका हुन्। कुल ३७ मतमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मतमा सीमित भए। एक मत बदर भएको थियो।
यो जितसँगै बानियाँले नेतृत्व परिवर्तनका लागि आफैंले अघि सारेको अविश्वास प्रस्तावलाई राजनीतिक सफलतामा रूपान्तरण गर्न सफल भएका छन्। यही २२ मतकै आधारमा लामाविरुद्धको अविश्वास प्रस्ताव पास भएको थियो, जसले आजको जितको आधार तयार गर्यो।
दोस्रो भिडन्त, बानियाँको ‘पोलिटिकल रिभेञ्ज’
यो बानियाँ र लामाबीचको दोस्रो प्रत्यक्ष प्रतिस्पर्धा हो। २०७९ सालमा भएको संसदीय दलको नेताको निर्वाचनमा बानियाँ लम्कंदै आएका थिए तर अन्तिममा लामासामु पराजित भएका थिए। दुई वर्षपछि उनी उही प्रतिस्पर्धीमाथि विजय भएर ‘बदला’ लिन सफल भएका छन्।
कांग्रेसभित्र लामो समयदेखि चलिरहेको गुटबन्दी, असन्तोष र शक्ति संघर्षको केन्द्र बनेको नेतृत्व परिवर्तनले अब दलभित्रको सन्तुलन फेरिने संकेत गरेको छ।
अब हेर्न बाँकी छ—इन्द्र बानियाँले नेतृत्वमा आएको नयाँ शक्ति समिकरणले कांग्रेसलाई कसरी अगाडि बढाउँछन्!
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया