पोखरा पुगेर वडाध्यक्षको हायु परिवारसंग आग्रह : “गाउँ फर्कनुस्, हामी साथ दिन्छौँ”

सिन्धुली, १४ साउन — गोलन्जोर गाउँपालिका- ६ का वडाध्यक्ष रविन श्रेष्ठ मंगलबार साँझ पोखरातर्फ हिँडे। उनको गन्तव्य त्यहाँको कुनै बैठक वा कार्यक्रममा सहभागी हुनुभन्दा फरक थियो। उनी खोज्दै थिए — केही दिनअघि गाउँको घर, गोठ र सबै थाती त्यत्तिकै छाडेर पोखरा पुगेकी उर्मिला हायूको परिवारलाई।
सडक, अस्पताल, विद्यालय — ती सबै पहुँचभन्दा परको गाउँ छ, गोलन्जोर–६ को छेत्पा नजिकको भण्डास विप्पर कटेरी। त्यहीँका हुन् उर्मिला र उनका १६ सदस्यीय परिवार। साउन ९ गते रातारात गाउँ छाडेर हिँडेका उनीहरूलाई परिवार बेपत्ता भन्दै सञ्चारमाध्यमले समाचार प्रसारित हुँदा देश दुनीयाँ नै चकचकी थियो।
उनीहरूको अवस्थाबारे बुझ्न, भेट गर्न र गाउँ फर्काउने प्रस्ताव राख्न वडाध्यक्ष श्रेष्ठ बुधबार विहान आफैँ पोखरा पुगे। उनले उर्मिला र जेठा छोरा राजु हायूसँग लामो संवाद गरे। श्रेष्ठले भने, “ भनें — यो शहर महँगो छ, तपाईँहरूका लागि गाह्रो हुन्छ। मसँग सिन्धुलीमाढीमै खाली घर छ, गएर बस्नुस्। वडाले बाँकी संरचना मिलाउँछ।”
राजु तयार देखिए, तर आमाको मन अझै अलमलमा थियो। कारण स्पष्ट थियो — गाउँमा आधारभूत सुविधा छैन। उनीहरूले भने, “गाउँमा बाटो छैन, पानी छैन, उपचारको ठाउँ छैन। उब्जनीले तीन महिना पनि धान्दैन। सहर पस्नैपर्ने भयो।”
उता वडाध्यक्षले परिवारलाई सम्झाए — वडाले अस्थायी घर बनाइदिने, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर पुनःस्थापनाको व्यवस्था मिलाइदिने।
“गाउँमै बस्ने ठाउँ छ, चौपाया हेर्ने व्यवस्था मिलाइसकेका छौँ, फर्कनुस्,” उनले भने।
हायू परिवारले सल्लाह गरेर निर्णय गर्ने जनाएका छन्। वडाध्यक्ष श्रेष्ठका अनुसार गाउँ फर्किएमा घर भएको जग्गा खरिद गरिदिने, र वडामै अन्य सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिने प्रस्ताव गरिएको छ।
उता नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले पनि परिवारको अवस्थाबारे चासो राख्दै लोपोन्मुख हायू समुदायको संरक्षणमा आफू पूर्णरूपमा सहयोग गर्न तयार सहेको वडाध्यक्ष रविन श्रेष्ठ र कांग्रेस गोलन्जोरका सभापति मोतीराज सापकोटा मार्फत सन्देश पठाएका थिए। “आर्थिक होस् वा भौतिक, पुनःस्थापनाको लागि जुनसुकै सहयोग गर्न म तयार छु,” घिमिरेको भनाइ थियो।
उर्मिलाबाहेकका सदस्यहरू सामाजिक सुरक्षा भत्ता लिनकै लागि साउन ६ गते गोलन्जोर–७ स्थित हिमालयन बैंक गएका थिए। उनीहरूले तीन महिनाको भत्ताबापत १ लाख ९१ हजार ५ सय २० रुपैयाँ पाएका थिए। भत्ता नवीकरण पनि ९ गते वडा कार्यालयमै गरेका थिए।
२०७८ को जनगणनाअनुसार, हायू जातिको जनसंख्या जम्मा ३ हजार ६९ मात्र छ। त्यसैले यो घटना केवल एउटा परिवारको कथा होइन, एक लोपोन्मुख समुदायको भविष्यसँग गाँसिएको मुद्दा हो। अब हेर्न बाँकी छ — वडाध्यक्षको आग्रह र स्थानीयको साथले उर्मिलाको मन परिवर्तन हुन्छ कि हुँदैन।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम