सिन्धुलीमा २७ अर्बको मासु प्रशोधन परियोजना : छेन्दु जियान र हिमालयन फुडको सहकार्य

सिन्धुली, साउन १६ / सिन्धुलीको मरिण गाउँपालिका–४ मा एक सय बिघा क्षेत्रफलमा स्थापना हुने मासु प्रशोधन उद्योगमा २७ अर्ब रूपैयाँभन्दा बढी लगानी हुने भएको छ। भैंसीपालन, चरन क्षेत्र विस्तार, मासु तथा सहायक वस्तुहरूको उत्पादनका लागि सो लगानी गरिन लागेको हो।

यस परियोजनामा चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले २० अर्ब रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) नेपालमा भित्र्याउने अनुमति उद्योग विभागबाट पाइसकेको छ। विभागले साउन ८ गते लगानी स्वीकृति दिएको हो। यो हालसम्मको सबैभन्दा ठूलो मासु प्रशोधन उद्योग हुने बताइएको छ।

छेन्दु जियानले स्थापना गर्न लागेको उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको आदि) उत्पादन गर्नेछ। पूर्ण क्षमतामा सञ्चालनमा आएपछि उद्योगले ५,१५६ जनालाई प्रत्यक्ष रोजगारी दिनेछ।

परियोजना १० देखि २० महिनाभित्र निर्माण सुरु गरी दुई वर्षभित्र सञ्चालनमा ल्याउने तयारीमा रहेको छ। लगानी तालिका अनुसार पहिलो वर्षमा ६ अर्ब, दोस्रो वर्षमा १० अर्ब र तेस्रो वर्षमा थप ४ अर्ब रूपैयाँ लगानी गरिनेछ।

यसमा नेपाली निजी क्षेत्रको सहभागिता पनि देखिएको छ। हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले साझेदारीका रूपमा ७ अर्ब रूपैयाँको थप लगानी गर्ने जनाएको छ। कम्पनीले यो लगानी बैंक ऋण तथा स्वपुँजीमार्फत जुटाउने जनाएको छ।

“छेन्दु जियान प्रालिको लगानी २० अर्ब हो। हामीले साझेदारीमा ७ अर्ब रूपैयाँ छुट्टै लगानी गर्दैछौं,” हिमालयन फुड इन्टरनेसनलका अध्यक्ष नवीन शर्माले भने। प्रारम्भिक चरणमा छुट्टै संरचना भए पनि दुवै कम्पनी एउटै परियोजनामा सहकार्य गर्दै छन्।

छेन्दु जियानले जग्गा प्राप्ति, घाँस खेती, भैंसीपालनदेखि मासु उत्पादन र किसान व्यवस्थापनका सम्पूर्ण पक्ष सम्हाल्नेछ। हिमालयन फुडले निर्यात प्रक्रिया तथा आवश्यक परेमा किसानका लागि कोष व्यवस्थापनमा सहयोग गर्नेछ।

शर्माका अनुसार परियोजना केवल मासु उत्पादनमा सीमित नभई सम्पूर्ण उत्पादन चक्र (फार्मिङदेखि बिक्रीसम्म) समेट्ने गरी अगाडि बढाइनेछ। परियोजनाले कम्तीमा पाँच लाख किसानलाई समेट्ने लक्ष्य लिएको छ।

नेपालबाट मासु निर्यातको सम्भावना देखिएपछि थुप्रै चिनियाँ कम्पनीहरू इच्छुक देखिए पनि हिमालयनले उत्पादनदेखि निर्यातसम्मको कार्यमा सक्रिय रहने ठूलो कम्पनी खोज्दै छेन्दु जियानसँग सहकार्य गरेको हो।

चीन विश्वकै सबैभन्दा ठूलो मासु उपभोक्ता मुलुक हो। अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिनाजस्ता देशबाट आयात गरिरहेको चीनका लागि भौगोलिक रूपमा नजिक रहेको नेपाल किफायती आपूर्तिकर्ताका रूपमा आकर्षक भएको छ।

छेन्दु जियान र हिमालयन फुडबीच सन् २०२६ फेब्रुअरीदेखि मासु निर्यात सुरु गर्ने समझदारी भइसकेको छ। यद्यपि जग्गा हदबन्दी, खोरमुक्त क्षेत्र घोषणा लगायत कानुनी तथा प्राविधिक प्रक्रिया ढिलो भएकाले परियोजना करिब ६ महिना पछि धकेलिएको जनाइएको छ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

-->

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर