सिन्धुलीका दुई सांसदले गरेनन्, मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर

सिन्धुली, ९ साउन । बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। तर सिन्धुलीबाट निर्वाचित कांग्रेस सांसद छेत्र बहादुर बम्जन र रामकुमार पहाडीले उक्त प्रस्तावमा हस्ताक्षर गरेका छैनन्।

बागमती प्रदेश सभामा कांग्रेसका कुल ३७ सांसद छन्। तिनीहरू मध्ये लामा पक्षमा उभिएका बम्जन र पहाडीसहित जम्मा १६ सांसद मात्र लामाको समर्थनमा रहेका छन्। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये आइतबार राजीनामा दिएका चार मन्त्री पनि सामेल छन्।

अविश्वासको प्रस्ताव बागमती प्रदेश सभापति इन्द्र बानियाँको नेतृत्वमा दर्ता गरिएको हो। हस्ताक्षर गर्ने सांसदहरूमा बानियाँसहित शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन्।

लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अधिकांश सांसद कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह पक्षधर हुन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर