सिन्धुलीका दुई गाउँपालिका सहित मन्त्रालयले खटाएका अधिकृत हाजिर नगराउने, पालिकाहरूलाई चेतावनी

सिन्धुली, ९ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दीअनुसार खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पालिकाहरूलाई कडा चेतावनी दिएको छ।
मन्त्रालयले २०८२ असार २५ गते (बुधबार) प्रशासन तर्फका ३९औँ ब्याचका ११४ शाखा अधिकृतमध्ये दीपशिखा आलेलाई हरिहरपुरगढी गाउँपालिका र साजन अधिकारीलाई गोलन्जोर गाउँपालिकामा खटाएको थियो। यसै दिन मन्त्रालयले देशभरका ६९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो। तर सिन्धुलीका यी दुई सहित अन्य पालिकाहरूले मन्त्रालयको निर्णय विपरीत खटाइएका अधिकृतलाई हाजिर गराउन नसकिने भन्दै मन्त्रालयमा पत्राचार गरेका थिए।
मन्त्रालयले गत बिहीबार जारी गरेको विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ बमोजिम निजामती सेवाका अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने स्पष्ट कानुनी व्यवस्था रहेको भन्दै यसलाई बेवास्ता गर्ने कार्यले प्रभावकारी सेवा प्रवाहमा अवरोध सिर्जना गरेको जनाएको छ।
सिन्धुलीका गोलन्जोर र हरिहरपुरगढी गाउँपालिकामा मन्त्रालयबाट दरबन्दीअनुसार आएका अधिकृतलाई हाजिर नगराई वरिष्ठतम कर्मचारीलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। गोलन्जोरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सम्भु पौडेलको सरुवा भएपछि जनस्वास्थ्य अधिकृत दिपेन्द्र कुमार पैकारालाई जिम्मेवारी दिइएको थियो। त्यसपछि शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहाल र हाल कृषि अधिकृत चन्द्रकान्त चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
यस्तै, हरिहरपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल घ्याङलेख गाउँपालिका सरुवा भएपछि गोलन्जोरबाट आएका जनस्वास्थ्य अधिकृत दिपेन्द्र कुमार पैकारालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीले “व्यावसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन” नारालाई आत्मसात् गर्दै प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्रालयको निर्देशनअनुसार पालिकाहरूले तुरुन्त कार्य गर्नुपर्ने स्पष्ट पारेका छन्।
विज्ञप्तिमा यसअघि वरिष्ठतम कर्मचारीलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार खारेज भइसकेको र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत जानकारी गराइसकिएको उल्लेख गर्दै, सबै स्थानीय तहलाई मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्त हाजिर गराई सहज वातावरणमा सेवा प्रवाह गर्ने अवस्था बनाउन आग्रह गरिएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रअनुसार हरिपुरगढी र गोलन्जोर गाउँपालिकामा खटिएका नयाँ प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा हाजिर भई गाउँपालिकाको निर्णयसहितको पत्र लिएर कोलेनिका आएपछि मात्र दुवै पालिकाको खाता सञ्चालन हुने बताए। यदि त्यसो नभएकमा दुबै पालिकाको खाता सञ्चालन हुने छैन । उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।