मुख्यमन्त्रीको निष्कर्ष: सिन्धुलीबाट मन्त्री बनेकी सुकमाया तमाङ कार्यसम्पादनमा कमजोर

मकवानपुर । बागमती प्रदेश सरकारको एक वर्षे कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुलीबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनेकी सुकमाया तामाङको काम सन्तोषजनक नदेखिएको निष्कर्ष आएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रालयगत मूल्याङ्कन गर्दा तामाङको सक्रियता देखिए पनि मन्त्रालयको योजना र कार्यान्वयन प्रभावकारी नदेखिएको सचिवालय स्रोतले जनाएको छ।

गत वर्ष साउन ९ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामाले भदौ ५ मा सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका थिए। योजनाहरूको कार्यान्वयन, समयसीमा र कानुनी व्यवस्थालाई स्पष्ट गरिए पनि मन्त्रालयहरूले जिम्मेवारीअनुसारको परिणाम दिन नसकेकाले प्रदेश सरकारको समग्र प्रदर्शन कमजोर देखिएको छ।

तामाङको मन्त्रालय उद्योग ग्राम योजना अलपत्र पारेको बेला सोही प्रकृतिका नयाँ योजना बजेटमा ल्याइएको छ। ठूला विकास योजनाको कार्यान्वयन, राजस्व संकलन र कर प्रणाली सुधारमा पनि मन्त्रालयले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरिएको छ।

मुख्यमन्त्रीको ग्रेडिङमा कानुन मन्त्रालयलाई उत्कृष्ट मानिएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ, युवा तथा खेलकुद र स्वास्थ्य मन्त्रालयको काम अपेक्षाकृत राम्रो देखिएको छ। तर उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कमजोर कार्यसम्पादन सूचीमा राखिएको छ।

विशेषगरी संस्कृति तथा पर्यटन मन्त्रालय सबैभन्दा कमजोर देखिएको छ भने तामाङको मन्त्रालयले पनि जनताले अनुभूत गर्ने ठोस उपलब्धि दिन नसकेको मुख्यमन्त्री लामाको निष्कर्ष छ।

मुख्यमन्त्री लामाले प्रदेश सरकारको एक वर्षे मूल्याङ्कनमा “मन्त्रीहरूको सक्रियता देखिए पनि परिणाममूलक काम हुन नसक्दा प्रदेशको समग्र विकास प्रभावित भएको छ” भन्दै आगामी दिनमा परिणाममुखी कार्यशैलीमा ध्यान दिनुपर्ने बताएका छन्। रातोपाटीबाट


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर