भारतमा लगेर युवक बन्धक! सिन्धुलीका अच्छामीसहित दुई पक्राउ
 															
									सांकेतिक तस्बिर								
													काठमाडौं । काठमाडौंबाट एक युवकलाई भारतको पटनामा लगेर बन्धक बनाएको आरोपमा प्रहरीले सिन्धुली र सिन्धुपाल्चोकका दुई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भई हाल भक्तपुर बस्ने २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोक घर भई पर्सामा बस्दै आएका ४५ वर्षीय रेशमबहादुर खत्री रहेका छन् । उनीहरूलाई साउन ५ गते वीरगन्ज र बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरिएको मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवरले जानकारी दिए ।
प्रहरीका अनुसार यी दुवैले पीडितलाई “३५ हजार भारतीय रुपैयाँ तलब आउने काम छ” भनेर वैशाख १९ गते पटना नजिकै लगेका थिए । तर त्यहाँ पुगेपछि ‘वेल स्टार डाइनामिक कम्पनी’मा तालिमको नाममा १० हजार भारतीय रुपैयाँ असुल्ने र त्यसपछि नेटवर्किङ व्यवसायमा लगानी गर्न भन्दै थप २ लाख भारतीय रुपैयाँ मागेर बन्धक बनाएको खुलासा भएको छ ।
बन्धक अवस्थामा राखेर नेपालबाट थप व्यक्तिहरू बोलाउन दबाब दिइएको र यस्तो दबाब सहन नसकेपछि पीडित भागेर नेपाल फर्किएको प्रहरीले जनाएको छ । पटनासहित मुजफ्फरपुर क्षेत्रमा यसरी नेपालीहरूलाई जबरजस्ती नेटवर्किङ कम्पनीको नाममा आर्थिक तथा श्रम शोषण गरिने गरेको एसपी कुँवरको भनाइ छ ।
प्रहरीको अनुसन्धानअनुसार, तालिम लिनेहरूलाई सुरुमा सुटको कपडा दिएर नयाँ ग्राहक ल्याउन बाध्य पारिने र लगानी बढाउन दबाब दिने गरिन्छ । अहिले पक्राउ परेका अच्छामी र खत्रीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							


 											
 											
 											
 											
 											
 
 
 
 
 
 
 
फेसबुक प्रतिक्रिया