सिन्धुलीको मधुगङ्गा महादेव मन्दिर दर्शन गर्न आएका भारतीय तीर्थयात्रीको मृत्यु

सिन्धुली, ५ साउन / जिल्लाको दुधौली नगरपालिका–२ लङ्गुरखोलास्थित मधुगङ्गा महादेव मन्दिर दर्शन गर्न आएका एक तीर्थयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार करिब ५५ देखि ६० वर्ष उमेरका जस्तो देखिने एक पुरुषको शव सोमबार दुधौली नगरपालिका-२ गागनबजारमा भेटिएको हो । मृतकको पहिचान खुल्ने कुनै कागजात फेला नपरेको र शवलाई मुचुल्का पश्चात पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीले मृतकको शारीरिक बनावट र पोशाकका आधारमा उनी भारतबाट मन्दिर दर्शन गर्न आएका भक्त हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए। उनका अनुसार साउन महिनाभर यस मन्दिरमा भारत र स्थानीय क्षेत्रबाट ठूलो संख्यामा भक्तजन पुग्ने परम्परा छ र ती व्यक्तिसमेत त्यही भीडमा आएका तीर्थयात्री हुन सक्ने सम्भावना छ।
लङ्गुरखोलास्थित मधुगङ्गा महादेव मन्दिर पछिल्ला वर्षमा धार्मिक आस्थासँगै पर्यटकीय गन्तव्यको रूपमा पनि लोकप्रिय बन्दै आएको छ। विकट जङ्गलको बीचमा अवस्थित यो मन्दिरमा विशेषगरी साउन महिनामा भव्य मेला लाग्ने चलन छ। यसै कारण हालको समयमा मन्दिरमा दैनिक सयौँको संख्यामा भक्तजन पुगिरहेका छन्।
मृतकको नाम, वतन तथा पहिचान नखुलेकोले आफन्तसम्म जानकारी पुगोस् भनी समाचार प्रकाशन तथा सेयर गर्न आग्रह गरेका छौं। “शवको पहिचानका लागि हामीले सक्दो प्रयास गरिरहेका छौँ, यदि कसैले चिनेमा तुरुन्त जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सम्पर्क गरिदिनुहोला,” डिएसपी सुवेदीले भने। पोष्टमार्टमपछि मात्र मृत्युको कारणबारे थप स्पष्टता आउने र त्यसपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।