नेपाली सेनाले बिपी राजमार्गमै देखायो, सिन्धुलीगढीको झल्को !

सिन्धुली, ३ साउन / नेपाली सेनाले ऐतिहासिक गढी, किल्ला र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने परम्परा निरन्तरता दिँदै बिपी राजमार्गमै सिन्धुलीगढीको इतिहास झल्काउने भित्ते लेखन र युद्ध सालिक निर्माण गरेको छ।

श्री नं. ९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी युवराज कार्कीले सेनाले विगत लामो समयदेखि देशभरका ऐतिहासिक स्थलको जगेर्ना गर्दै आएको स्मरण गराउँदै भने, “सिन्धुलीगढी क्षेत्रको ऐतिहासिक महत्व उजागर गर्न २०८१ पुस १९ गतेदेखि सेनाले पुनः निर्माण कार्यको नेतृत्व लिएको हो।”

उनका अनुसार कमलामाई नगरपालिकासँगको सहकार्यमा ढुङग्रेभन्ज्याङ नजिकको ‘सेल्फिडाँडा’मा भद्रकाली मन्दिर, कमलामाई मन्दिर, सिन्धुलीगढी दरबारलगायतका चित्र र युद्ध सालिक तयार गरिएका छन्। “सिन्धुलीगढीसम्म पुग्न नसक्ने यात्रु र पर्यटकका लागि यहाँको भूगोल, इतिहास र स्वाभिमान बुझाउने उद्देश्यले यो संरचना निर्माण गरिएको हो। यो सिन्धुलीगढीको व्यापक प्रवर्द्धनको एउटा प्रयास हो,” बाहिनीपति कार्कीले थपे।

यस निर्माणका लागि कमलामाई नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको थियो। नेपाली सेनाको सिन्धुलीस्थित श्री नं. ९ बाहिनी अड्डाकाको समन्वय तथा  भवानीवक्स गणको नेतृत्वमा नेपाली सेनाको प्राविधिक टोलीले करिब दुई महिना लगाएर भित्ते लेखन र सालिक तयार गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो।

कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले यो प्रयासले सिन्धुलीगढीसम्म पुग्न नसक्नेहरूलाई राजमार्गमै इतिहासको झल्को दिने बताए। “सिन्धुलीगढी केवल सिन्धुलीको मात्र नभई नेपालको ऐतिहासिक पहिचान हो। त्यसैले यात्रुहरूले राजमार्गमै यसको झल्को पाउन सकून् भनेर यो काम गरिएको हो,” उनले भने।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सिन्धुलीगढीको प्रचार, संरक्षण र पर्यटकीय प्रवर्द्धनमा यो पहल महत्त्वपूर्ण हुने बताए।

पहिला ‘सेल्फिडाँडा’ भनेर चिनिने ढुङग्रेभन्ज्याङको यो स्थान अब ‘गढीडाँडा’ नामाकरण गरिँदै यात्रु र पर्यटकका लागि नयाँ आकर्षणको रूपमा विकास हुने अपेक्षा गरिएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर