गोलन्जोर पालिका अस्पताल सञ्चालनका लागि मन्त्री थापा र अध्यक्ष बराल बीच भेट !

सिन्धुली, ३ साउन / जिल्लाको गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारमा निर्माणाधीन १५ शैयाको पालिका अस्पताल सञ्चालनका लागि गाउँपालिका अध्यक्ष शंकर राज बराल र बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरणकुमार थापाबीच महत्वपूर्ण भेटघाट तथा छलफल भएको छ।
भेटका क्रममा अध्यक्ष बरालले अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको भए पनि सेवा सुरु गर्न चिकित्सकको व्यवस्था, स्वास्थ्य उपकरण र बजेटको आवश्यकता रहेको जानकारी गराए। उनले अस्पताललाई शीघ्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।
मन्त्री थापाले अध्यक्ष बरालको आग्रहलाई सकारात्मक रूपमा लिँदै अस्पताल सञ्चालनका लागि मन्त्रालयको तर्फबाट र आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । साथै, प्रदेश सरकारले पालिका अस्पतालको सेवा सुदृढ बनाउन सहकार्य गर्ने जिकिर गरे।
अस्पताल सञ्चालनमा आएपछि गोलन्जोर गाउँपालिका, छिमेकी जिल्ला रामेछाप र ओखलढुंगा लगायत क्षेत्रका नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा उपलब्ध हुने र बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया