मदन भण्डारी हीरक जन्मजयन्ती मूल समितिमा सिन्धुलीका खड्ग खत्री र विनोद खड्का सदस्य

सिन्धुली, ३२ असार । नेकपा एमालेका दिवंगत नेता मदन भण्डारीको ७५औं हीरक जन्मजयन्ती मनाउन गठन गरिएको मूल समारोह समितिमा सिन्धुलीका खड्ग बहादुर खत्री र विनोद खड्का सदस्यमा चयन भएका छन्। खत्री सिन्धुलीको कमलामाई नगरपालिकाका निवर्तमान मेयर हुन् भने खड्का बागमती प्रदेशसभाका पूर्व सदस्य हुन्।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा बनेको ‘जननेता मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को संरक्षकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहनेछिन्। मंगलबार काठमाडौंमा मदन भण्डारी फाउन्डेसनले पत्रकार सम्मेलनमार्फत समितिको संरचना सार्वजनिक गरेको हो।

फाउन्डेसनका अनुसार भण्डारीको विचार, योगदान र व्यक्तित्वलाई देशभर पुर्‍याउने उद्देश्यले समिति गठन गरिएको हो। समितिको सल्लाहकारमा महेन्द्रबहादुर पाण्डे, सोमनाथ अधिकारी प्यासी, युवराज कार्की र वाचस्पति देवकोटा छन्। सहसंयोजकमा सुशील प्याकुरेल र प्रा.डा. गणेशमान गुरुङ तथा सचिवमा डा. भेषराज अधिकारी रहेका छन्।

सदस्यहरूमा सानुकुमार श्रेष्ठ, गोपाल गुरागाईं, बिनोद ढकाल, पार्वत भण्डारी, खेम नेपाली, राम दंगाल, सिद्धराज राई, सुबोधराज प्याकुरेल, जयकुमार राई, राज मोहम्मद राय, मणिशंकर निधि लगायत छन्।

वर्षभर चल्ने कार्यक्रम

१४ असार २००९ मा जन्मिएका भण्डारीको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा ४१ वर्षकै उमेरमा निधन भएको थियो। उनी जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता हुन्।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीका अनुसार भण्डारीको ७५औं हीरक जन्मजयन्ती २०८२ र २०८३ सालभरि मनाइनेछ भने २०८४ साललाई समापन वर्षका रूपमा विशेष रूपमा मनाइने योजना छ।

जन्मजयन्तीका क्रममा विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, वादविवाद, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र पुस्तक प्रदर्शनीजस्ता गतिविधि गरिनेछन्। साथै यो अभियानलाई देशका टोलटोलसम्म पुर्‍याएर अन्य सामाजिक अभियानसँग पनि जोडिने फाउन्डेसनले जनाएको छ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय