‘कमिसन, पूर्वाग्रह र पद दुरुपयोग’ एमालेको घिमिरेमाथि गम्भीर आरोप, भुक्तानी रोकेको भन्दै छानबिनको माग

सिन्धुली,  २९ असार । शहरी विकास तथा भवन निर्माण कार्यालय सिन्धुलीका प्रमुख दुर्गा प्रसाद घिमिरेमाथि नेकपा एमाले सिन्धुलीले गम्भीर प्रशासनिक भ्रष्टाचार, पद दुरुपयोग, योजनामा कमिसन असुली, मनोमानी कर्मचारी नियुक्ति र कमजोर सामग्री आपूर्ति लगायतका अनेकौँ आरोप लगाउँदै तीव्र आक्रोश व्यक्त गरेको छ।

एमालेले आरोप लगाएको छ कि प्रमुख घिमिरेकै पूर्वाग्रही र भ्रष्ट शैलीका कारण कमलामाई नगरपालिका–६ मा निर्माण सम्पन्न भइसकेको “आजाद स्मृति भवन”को भुक्तानी अहिले रोकिएको छ। पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा घिमिरेको कार्यशैली कानुनको अवमूल्यन र जनताको सहयोगप्रति असम्मान भएको भन्दै चेतावनी दिइएको छ।

पार्टीका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले हिजो शनिबार पत्रकार सम्मेलन सहित प्रेस विज्ञप्ती नै जारी गरेर भनेका छन्, “निर्माण सम्पन्न भइसकेको भवनको भुक्तानी रोक्नु केवल एक व्यक्तिको सनक र सिण्डिकेट प्रवृत्तिको प्रतिबिम्ब हो। यो कार्य सिधै कानुनको अपमान हो।” एमालेका अनुसार उक्त भवन प्रदेश सरकारको बजेट, उपभोक्ता समितिको श्रमदान र सरकारी कार्यादेशको अधारमा विधिवत् रूपमा सम्पन्न भएको हो।

विज्ञप्तिका अनुसार २०७१ सालमै आजाद स्मृति प्रतिष्ठान र एमाले जिल्ला कमिटीबिच ६ बुँदे सम्झौताका आधारमा स्मृति भवनको योजना अघि बढाइएको थियो। प्रदेश सरकारबाट ३७ लाख १९ हजार ९९९ रुपैयाँको बजेट विनियोजन भई २०८१ माघ २२ गतेदेखि निर्माण सुरु गरिएको र शहरी विकास कार्यालयकै निरीक्षणमा २०८२ असार २२ मा कार्य सम्पन्न भएको थियो। वडाबाट समेत सिफारिस भइसकेको अवस्थामा घिमिरेले बारम्बार झूटो आधार खडा गरी भुक्तानी रोक्दै आएको एमालेको आरोप छ।

एमालेको आरोप अनुसार, प्रमुख घिमिरे योजना कोटेशनमा टुक्र्याएर २० प्रतिशत कमिसन असुल्ने, आफू अनुकूल कर्मचारी नियुक्त गर्ने, मुसहर तथा विपन्न बस्तीमा घटिया सामग्री आपूर्ति गरेर ठेकेदारसँग मिलेमतोमा योजना बाँड्ने, र डीपीआर निर्माणमा समेत कमिसन खाने जस्ता क्रियाकलापमा संलग्न छन्।

यस्ता गतिविधि अमानवीय मात्र नभई सरकारी सम्पत्तिको दोहन र जनताको करको दुरुपयोग भएको भन्दै पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग र सम्बन्धित मन्त्रालयमार्फत छानबिनको माग गरेको छ।

एमालेले भवन निर्माणसम्बन्धी सम्पूर्ण कागजात तयार भइसकेको अवस्थामा समेत एक रुपैयाँ पनि भुक्तानी नभएको जनाएको छ। पार्टीले यथाशीघ्र सम्झौता अनुसारको भुक्तानी निकासा गर्न सरकार र सम्बन्धित निकायसँग अपिल गर्दै चेतावनी दिएको छ— “यदि पूर्वाग्रही ढंगले कार्य रोक्ने प्रयास पुनः भयो भने कानुनी सङ्घर्ष र जनस्तरमा प्रतिकारमा उत्रनेछ।”

साथै, केही अनलाइन मिडियाले कार्यालय प्रमुखको हवाला दिँदै कपोकल्पित र भ्रामक समाचार प्रवाह गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै पार्टीले मिडिया क्षेत्रलाई सत्य सूचना दिने नैतिक जिम्मेवारीबारे पनि स्मरण गराएको छ।

एमालेले भवन निर्माणसम्बन्धी सबै अभिलेख चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै, घिमिरे स्वयंले सम्पूर्ण परिस्थितिको जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ।

निर्माण समिति र सम्झौतामा आशंका, तालाबन्दी

कमलामाई नगरपालिका–६ स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालय निर्माणका लागि विनियोजित ३० लाख रुपैयाँको निकासा निर्माण समिति गठन र प्रतिष्ठानबीचको सम्झौतामा देखिएको अस्पष्टताका कारण रोकिएको छ।

शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका अनुसार, भवन निर्माण स्थल नेकपा एमालेको नाममा दर्ता भए पनि बजेट आजाद स्मृति प्रतिष्ठानको नाममा विनियोजन गरिएको छ। तर सो प्रतिष्ठानसँग सम्बन्धित दर्ता, अनुमति र नक्सापास सम्बन्धी कागजातहरु उपलब्ध नभएपछि निकासा हुन सकेको छैन।

२०७१ सालमा तत्कालीन पार्टी अध्यक्ष प्रदीप कटुवाल र प्रतिष्ठान अध्यक्ष रमेश देवकोटाबीच भएको सम्झौता र निर्माण समितिको गठन प्रक्रियामा समेत शंका देखिएको छ। प्रतिष्ठानको खातामा रकम नराखी पार्टी नेतृत्वले गठन गरेको उपभोक्ता समितिमार्फत रकम खर्च गरिनु र समितिको वैधता सम्बन्धमा पनि प्रश्न उठाइएको छ।

कमलामाई नगरपालिकाले भवन निर्माण स्थलमा नक्सापास नभएको र जग्गा नेकपा एमालेको नाममा दर्ता भएको पत्र पठाएपछि, शहरी विकास कार्यालयले निकासा रोकेको जनाएको छ।

यसैबीच, नेकपा एमालेले भुक्तानीको माग सहित शहरी विकास कार्यालय तालाबन्दी पनि गरेको थियो । तर, तालाबन्दी नै गरेपनि कार्यालयले एमालेले भुक्तानीको लागि तयार गरेको कागजपत्रमा नै आशंका जनाउँदै भुक्तानी रोकेको थियो ।

शहरी विकास कार्यालय प्रमुख दुर्गा प्रसाद घिमिरेले भने, “कानुनी आधार र स्पष्ट कागजात नहुँदा निकासा अघि बढाउन सकिँदैन।” एमालेले भने सम्झौता अनुसार निकासा दिनुपर्ने अडान राख्दै आएको छ। तर निर्माण समिति गठन र सम्झौतामा देखिएको अस्पष्टताले निकासा प्रक्रिया अझै अनिश्चित छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर