गोलन्जोरमा उद्योग वाणिज्य संघको नयाँ शाखा स्थापना

सिन्धुली, २८ असार । सिन्धुली उद्योग वाणिज्य संघले गोलन्जोरमा नयाँ शाखा स्थापना गरेको छ। यस शाखा स्थापना सँगै सिन्धुली जिल्लाका नौ पालिकामध्ये घ्याङलेख गाउँपालिका बाहेक सबै पालिकामा संघको शाखा विस्तार भएको छ।
संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले माईशिरसँग कुरा गर्दै भने, “घ्याङलेख गाउँपालिका बाहेक जिल्लाका सबै पालिकामा शाखा विस्तार भइसकेको छ। गोलन्जोर शाखा पनि त्यसै योजनाको महत्वपूर्ण भाग हो।” श्रेष्ठले शाखा विस्तारबाट स्थानीय व्यवसायी र उद्यमीहरूलाई सहज पहुँच र सहयोग मिल्ने, रोजगार सिर्जना बढ्ने, व्यापारिक समन्वय सहज हुने र आर्थिक विकासमा टेवा पुग्ने जानकारी गराए। उनले संघले स्थानीय समस्या समाधान र लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे।
गोलन्जोर गाउँपालिकाबाट व्यवसाय दर्ता गराएका ६१ जना सदस्यको सहभागिताबाट गठन गरिएको ११ सदस्यीय तदर्थ समितिको नेतृत्व रामकुमार श्रेष्ठले गरेका छन्। समितिमा रामहरि बराल र तेजबहादुर थापा उपाध्यक्ष, ओमकुमार कार्की सचिव, नारायणकुमार श्रेष्ठ सह–सचिव, नवराज श्रेष्ठ कोषाध्यक्ष रहेका छन् भने, सरस्वती श्रेष्ठ, प्रकाश बाबु श्रेष्ठ, रविना बम्जन, सोमबहादुर राई, र चुडाराज सापकोटा सदस्यका रूपमा चयन भएका छन्।
शाखा उद्घाटन कार्यक्रमको प्रमुख आतिथी गोलन्जोर–३ का वडाध्यक्ष कृष्णप्रसाद पोखरेल रहेका थिए । कार्यक्रममा वडा नं. २ वडाध्यक्ष दौलत कार्की, जिल्ला पदाधिकारीहरू, प्रहरी चौकी ग्वाल्टार प्रमुख, र गोलन्जोरका क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रम शाखा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव ओमकुमार कार्की (गौरव) ले सञ्चालन गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।