गोलन्जोरका ७ उत्कृष्ट कर्मचारी सम्मानित

ग्वालटार, २७ असार / सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो जिम्मेवारी इमानदारिता, समयपालन, सेवाप्रति निष्ठा र कार्यसम्पादनमा सक्रियता देखाउने सात जना कर्मचारीलाई “उत्कृष्ट कर्मचारी” भनेर सम्मान गरेको छ। गाउँपालिकाको १७औं गाउँ सभाको तेस्रो बैठकको विशेष अवसर पारेर उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।
गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटारमा आयोजित उक्त सम्मान कार्यक्रममा विभिन्न शाखा, वडा तथा सेवा क्षेत्रबाट चयन भएका कर्मचारीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा सम्मान गरिएको हो।
सम्मानित कर्मचारीहरू यस प्रकार छन्:
- भास्कर थापा – कम्प्युटर अपरेटर, राजश्व शाखा
- भवानी ढुङ्गेल – सहायक चौथो, वडा सचिव, वडा नं. २, वितिजोर
- अन्जु श्रेष्ठ – सि.अ.न.मि., रतनचुरा स्वास्थ्य चौकी, वडा नं. ५
- देवी प्रसाद पहाडी – ना.प.से.प्रा., वडा नं. १, डुडभन्ज्याङ
- दुर्गा हायू – असिस्टेन्ट सव–इन्जिनियर
- चाँद बहादुर थापा – सवारी चालक
- हेड बहादुर चर्मकार – कार्यालय सहयोगी, वडा नं. ३
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शंकर बरालले जनताको प्रत्यक्ष सेवा गर्ने कर्मचारीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने भन्दै निरन्तर इमानदार र सेवामुखी ढंगले काम गर्ने कर्मचारीहरूलाई सम्मान गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताए। “यी कर्मचारीहरूले वर्षभर जुन समर्पणका साथ काम गरे, त्यो अरूका लागि पनि प्रेरणा बन्नेछ,” उनले भने।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले कार्यालयको सेवा प्रभावकारिता, कर्मचारीको जिम्मेवारी बोध र कार्यसम्पादनको सुधारका लागि यस्ता सम्मान कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे। “सम्मानले केवल प्रसंसा होइन, भविष्यमा अझ राम्रो गर्न हौसला दिन्छ,” उनले उल्लेख गरे।
गाउँसभाको बैठक र सम्मान कार्यक्रमले गाउँपालिकाभित्र कर्मचारीमा सेवा भावना बढाउने, सकारात्मक प्रतिस्पर्धा ल्याउने र जनताको सेवामा अझ प्रभावकारी ढंगले अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, वडास्तरीय प्रतिनिधि तथा नागरिकहरूको उपस्थिति थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।