सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सिन्धुलीमाढी, २५ असार / सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जनस्वास्थ्य कार्यालय र जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा हिजो मंगलबार घोषणा गरिएको हो।
जिल्लाका सबै ९ वटा स्थानीय तहमा बालबालिकाले नियमित रूपमा खोप सेवा पाएपछि यो उपलब्धि हासिल गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, जनस्वास्थ्य कार्यालय प्रमुख बिमल पटेल, निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, स्वास्थ्य मन्त्री किरण थापा लगायतको सहभागिता थियो।
जिल्लाका सबै पालिकाका प्रतिनिधिहरूले खोप कार्यक्रमलाई निरन्तर चलाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले पत्रकारका लागि स्वास्थ्य बीमामा प्रिमियम सेवा दिने, प्रदेश अस्पतालमा आँखाको उपचार सेवा सुरु गर्ने, दुई अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने र पाठेघरको मुखको क्यान्सर भएका महिलालाई १ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय भएको जानकारी दिए।
एक पालिका, एक नमूना स्वास्थ्य चौकी बनाउने र स्वास्थ्य नीति सुधार गरेर सेवा प्रभावकारी बनाइने उनले बताए।
सिन्धुलीमा १४ हजार १६८ बालबालिकाले खोप पाएका छन्। बाँकी रहेका १५८ जनालाई पनि खोप दिएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो। यसअघि फिक्कल गाउँपालिका पहिलो पूर्ण खोप पालिका बनेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।