सिन्धुलीमा करका कुराः नबुझाए जरिवाना, छल्न खोजे जेल

सिन्धुली, असार २१ / करदाता सेवा कार्यालय सिन्धुलीले कर र राजस्व सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गर्दै कर नबुझाउने वा छल्नेहरूलाई कडा कानुनी कारबाहीको चेतावनी दिएको छ।

शनिबार सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा प्रमुख मनोजकुमार न्यौपानेले आयकर, मूल्य अभिवृद्धि कर, प्यान दर्ता तथा नवीकरण, र कर प्रशासनको डिजिटल प्रणालीबारे जानकारी गराए। उनले करदाताले व्यवसाय दर्ता अनिवार्य गरी सञ्चालन गर्न, कर विवरण समयमै बुझाउन र आवश्यक कागजात व्यवस्थित राख्न आग्रह गरे।

उनका अनुसार सिन्धुलीमा हाल १७ हजार २ सय ६४ व्यक्तिगत प्यान मध्ये १७ हजार २ सय ५३ सक्रिय छन् भने १७ हजार ४ सय ३५ व्यवसायिक प्यान मध्ये १६ हजार ५४ सक्रिय रहेका छन्। त्यस्तै, १ हजार ९ सय ९५ मूल्य अभिवृद्धि कर दर्तामध्ये १ हजार ६ सय ९७ सक्रिय रहेका छन्।

न्यौपानेले आर्थिक वर्ष समाप्त भएपछि तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने र साउन महिनाभित्र नवीकरण गर्दा जरिवाना नलाग्ने, तर त्यसपछि क्रमशः २५, ५०, ७५ र १०० प्रतिशतसम्म जरिवाना लाग्ने व्यवस्था रहेको स्पष्ट पारे।

इजाजतबिना करयोग्य वस्तु वा सेवा सञ्चालन गरेमा सामान जफत हुने, जरिवाना तिर्नुपर्ने र एक वर्षसम्म कैद सजाय समेत हुन सक्ने कानुनी प्रावधान रहेको जानकारी दिँदै उनले समयमा प्यान दर्ता, नवीकरण र विवरण अद्यावधिक गर्न, अभिलेख सुरक्षित राख्न र शंका लागेमा कार्यालयसँग परामर्श लिन अनुरोध गरे।

कार्यक्रममा सहभागी करदाताहरूले प्यान नवीकरण, अनलाइन प्रणालीको सहजता, कर दरबारे अन्योल र व्यवहारिक समस्या उठाएका थिए। सहभागीहरूले यस्ता कार्यक्रम नियमित गर्नुपर्ने सुझावसमेत दिएका थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर