सिन्धुलीमा लागूऔषध खैरो हिरोईनसहित पति–पत्नी पक्राउ

सिन्धुली, असार २० / जिल्लाको कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवासबाट खैरो हिरोईनसहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका–९ घर भई हाल कमलामाई नगरपालिका–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय विनोद परियार र उनकी श्रीमती २४ वर्षीया अञ्जु श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएपी) सूर्य प्रकाश सुवेदीका अनुसार उनीहरूलाई हिजो १९ गते साँझ साढे ७ बजेतिर पक्राउ गरिएको हो। लागूऔषध खैरो हिरोईन बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी टोली पुग्नेबित्तिकै उनीहरूले साथमा राखेको प्लास्टिकको पोका नजिकैको झाडीमा फ्यालेर भाग्न खोजेका थिए। प्रहरीले उक्त झाडीबाट ४ वटा सेतो प्लास्टिकका पोका फेला पारेको थियो। पोका खोलेर हेर्दा खैरो हिरोईनजस्तो देखिने गिलो पदार्थ भेटिएको र तौल गर्दा प्लास्टिकसहित ५.५९० ग्राम तथा प्लास्टिक हटाएर ३.७३० ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
हाल दुवै जनालाई नियन्त्रणमा लिएर सिन्धुली जिल्ला अदालतबाट म्याद लिई थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।