‘यो सह्य छैन!’ सुनकोशी घटना पछि प्रशासकीय अधिकृतहरूको एकजुट आक्रोश

सिन्धुली / सुनकोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको कार्यकक्षमा गरिएको तालाबन्दीप्रति सिन्धुली जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले कडा भत्र्सा व्यक्त गर्दै सार्वजनिक रुपमा आपत्ति जनाएका छन्।
प्रेस विज्ञप्तिमार्फत उनीहरुले यस घटनालाई प्रशासनिक स्वायत्तता र सेवा प्रवाहमाथि भएको गम्भीर आक्रमणको रूपमा व्याख्या गरेका छन्। प्रचलित कानून र प्रक्रिया उल्लङ्घन गर्दै कार्यकक्षमा तालाबन्दी गर्नु राज्य र जनसेवाप्रति प्रत्यक्ष हमला भएको विज्ञप्तिमा उल्लेख छ। यसले प्रशासनिक काममा अवरोध पुर्याउने मात्र नभई समग्र विकास र जनसेवामा ठुलो झट्का पुर्याएको ठहर गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “वार्षिक बजेट र कार्यक्रम कार्यान्वयन पश्चात् भुक्तानीको अन्तिम समयमा गरिने यस्ता गैरकानुनी र असंवैधानिक क्रियाकलाप निश्चय पनि संविधान, कानून र सेवा प्रवाहप्रति चुनौती हो। यस्ता गतिविधिले सेवाग्राहीको अधिकारमाथि प्रत्यक्ष प्रभाव पार्छ र प्रशासनप्रति जनविश्वास घटाउँछ।”
प्रमुख प्रशासकीय अधिकृतहरुले सम्बन्धित पक्षविरुद्ध तत्काल कारबाहीका लागि सम्बन्धित निकायमा कदम चाल्न सरकारसँग आग्रह गरेका छन्। साथै यस्ता घटनाहरु दोहोरिन नदिन सक्तो कदम चाल्न कडा मागसमेत राखिएको छ।
कार्यक्रमले कर्मचारीहरुको मनोबल गिराउने हुँदा, यसप्रकारका गतिविधिहरूमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको विज्ञप्तिमा जोड दिइएको छ।
अन्त्यमा विज्ञप्तिमा सबै सरोकारवालाहरुलाई कानून, प्रक्रिया र पद्दतीको पूर्ण सम्मान गरी प्रशासनिक कार्यमा हस्तक्षेप नगर्न कडा चेतावनी दिइएको छ। साथै प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको कार्यकक्ष तत्काल खुलाउन र यथेष्ट कार्य वातावरण उपलब्ध गराउन सबै पक्षलाई आग्रह गरिएको छ।
कसले र किन लगायो ? प्रमुख प्रशासकीय अधिकृत अर्जु दर्जीको कार्यकक्षमा ताला ?
सुनकोशी गाउँपालिकाले प्रगतिशिल माध्यमिक विद्यालयको आर्थिक अनियमितता सम्बन्धमा प्रधानध्यापक सरिता चौलागाईलाई स्पष्टीकरण मागेको थियो। गाउँपालिकाले अनुदान खर्च, ठेक्का भुक्तानी र अन्य विषयमा स्पष्ट विवरण पेश गर्न पत्र पठाएको थियो। तर, प्रअ चौलागाईले माग गरिएका कागजातहरू समयमा नपठाएपछि गाउँपालिकाले स्पष्टीकरण सोधिएको जनाइएको छ।
विद्यालयमा भएको अनियमितता र भुक्तानीको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतले प्रधानाध्यापकलाई बारम्बार दुःख दिएको भन्दै सिन्धुलीको सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्ष सहितका जनप्रतिनिधिहरूले आक्रोश प्रकट गर्दै प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।