आमाको नाम राखेर नागरिकता बनाउन वडाबाटै सिफारिस गर्न प्रशासनको निर्देशन

सिन्धुली / नेपालको संविधान २०७२ ले नेपाली नागरिकलाई वंशज नागरिकता आमा वा बाबु दुबैको नामबाट प्राप्त हुने स्पष्ट ग्यारेन्टी गरेको भए पनि व्यवहारमा नागरिकता प्रमाणपत्रमा बाबुको मात्रै नाम समावेश भएर आमाको नाम खाली राखिने प्रथाले व्यापक आलोचना खेप्दै आएको छ।

संविधानको धारा ११(३) मा भनिएको छ —

“आमाको नामबाट समेत नेपाली नागरिकता प्राप्त गर्न सकिने व्यवस्था रहनेछ।”

तर,  हालै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नागरिकता सम्बन्धी प्रक्रियामा लैङ्गिक समानता सुनिश्चित गर्न पहिलो पहलकदमी सुरु गरेका छन् । प्रशासन कार्यालयहरुबाट जारी अधिकांश नागरिकता प्रमाणपत्रमा अहिले पनि बाबुको नाम मात्रै लेखिने, आमाको नाम उल्लेख नगर्ने प्रवृत्तिका कारण लैङ्गिक समानताको सवाल उठाउँदै महिला अधिकारकर्मीहरूले गुनासो गर्दै आएका छन्।

यही पृष्ठभूमिमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मंगलबार एक परिपत्र जारी गर्दै नागरिकतामा आमाको नाम राख्न चाहने सेवाग्राहीका लागि वडा कार्यालयमै आमाको नाम प्रष्ट उल्लेख गरी सिफारिस पठाउन अनिवार्य व्यवस्था मिलाउन निर्देशन दिएको छ।

प्रशासकीय अधिकृत प्रविण कटवालद्वारा जारी परिपत्रअनुसार, नागरिकता बनाउन आउने सेवाग्राहीले आमाको सक्कल नागरिकता, र यदि आमाको नागरिकतामा पतिको नाम नखुलेको भए सक्कल विवाह दर्ता अनिवार्यरूपमा पेश गरेको प्रमाण वडा कार्यालयले नै जाँच गरी मात्र सिफारिस गर्ने व्यवस्था गर्न भनिएको छ।

कागजात नपु¥याई आएका निवेदनका कारण आमाको नाम राख्न पटक–पटक समस्या देखिएकाले वडा कार्यालयबाटै सबै कागजात र विवरण मिलाएर सिफारिस पठाउन निर्देशन दिइएको प्रशासनले स्पष्ट पारेको छ।

महिला अधिकारकर्मीहरूले नागरिकताको फारममा आमाको नाम खाली रहने प्रथाले महिलालाई दोस्रो दर्जाको नागरिकझैं व्यवहार गरिएको भन्दै चर्को असन्तोष जनाउँदै आएका थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर