युवाको आवाजले विद्यालयमा सुधार: जनता माविमा दिवा खाजा, सरसफाइदेखि बाटो मर्मतसम्म

सिन्धुली । युवाहरुको सक्रियताले सिन्धुलीको कमलामाई नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय, चन्दनपुरका आधारभूत समस्याहरु समाधान भएका छन्।

प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालको साझेदारीमा सञ्चालित “युवा आवद्धता द्वारा स्थानीय तहको जवाफदेहिता अभिवृद्धि (स्याल्स)” परियोजनाअन्तर्गत सञ्चालन भएको युवा नागरिक अङ्कपत्र कार्यान्वयनका क्रममा विद्यालयमा पहिचान गरिएका समस्याहरु समाधान गरिएका हुन्।

स्याल्स परियोजनाले गरेको अध्ययनमा दिवा खाजा तयार गर्दा सरसफाइको अभाव, खाजा फोहोर हुने, विद्यालय अगाडि रहेको खाल्डाखुल्डीले आवागमनमा समस्या हुने, खानेपानीको असुविधा तथा कक्षाकोठा र शौचालयमा डस्टबिनको अभाव रहेको पाइएको थियो।

यी समस्याको समाधानका लागि युवा स्वयंसेवकहरुको सक्रियतामा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको सहभागितामा छलफल गरियो। युवा स्वयंसेवक सचिता कुमारी दनुवारका अनुसार समस्या समाधानका लागि निरन्तर पहल भएको बताइन्।

उनले भनिन्, “विद्यालयका समस्या समाधानका लागि हामीले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई निरन्तर सचेत गराइरह्यौं। सबैको संयुक्त प्रयासमा अहिले विद्यालय अगाडिको खाल्डाखुल्डी मर्मत भएको छ, खानेपानीको व्यवस्था मिलाइएको छ र कक्षाकोठा तथा शौचालयमा डस्टबिन राखिएको छ।”

यस्तै, सोही विद्यालयकी विद्यार्थी सुजता श्रेष्ठले भनिन्, “अहिले दिवा खाजा सफा र स्वादिलो हुन्छ, भाँडाहरु पनि राम्रोसँग सफा गरिन्छ। पहिलेभन्दा धेरै सुधार भएको छ, हामी खुसी छौं।”

यस्ता साना तर महत्वपूर्ण सुधारहरुले स्थानीय तहमा युवाहरुको सक्रिय सहभागिताले कसरी जवाफदेहिता बढाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर