रवि लामिछानेका लागि रास्वपाको हस्ताक्षर अभियान, सिन्धुलीमा भोलिदेखि

सिन्धुली, १३असार । सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले देश–विदेशमा हस्ताक्षर अभियान सुरु गरेको छ। रविविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा असार ७ गते पार्टीको स्थापना दिवसकै दिन माइतीघरबाट औपचारिक रूपमा अभियानको सुरुवात गरेको हो।

पार्टीका अनुसार लामिछानेले न्याय नपाएसम्म अभियान नरोकिने छ। यही अभियानलाई सशक्त बनाउँदै रास्वपा सिन्धुलीले पनि भोलि शनिबार बिहान ९ बजे कमलामाई नगरपालिका अगाडि पार्किङ क्षेत्रबाट हस्ताक्षर अभियान सञ्चालन गर्ने जनाएको छ।

जिल्ला सभापति अविनास बस्नेतले माईशिर डटकमसँग भने, सभापति लामिछानेमाथि राजनीतिक शक्तिको दुरुपयोग गरेर अन्याय गरिएकाले आम नागरिकको ऐक्यबद्धता देखाउन हस्ताक्षर अभियान सुरु गरेका हौं।

उनका अनुसार आइतबार दुधौलीको खनियाँ बजारसहित जिल्लाका ९ वटै पालिकामा चरणबद्ध रूपमा अभियान विस्तार गरिने छ। देश–विदेशमा रहेका नेपालीहरूले समेत अनलाइन वा अन्य माध्यमबाट अभियानमा सहभागी भई समर्थन जनाउन सक्नेछन्।

रास्वपाले आफ्नो सभापति लामिछानेमाथि राज्य संयन्त्र दुरुपयोग गरी मुद्दा लगाइएको आरोप लगाउँदै आएको छ। पार्टीले जनस्तरबाटै दबाब सिर्जना गरेर न्याय दिलाउने प्रयास स्वरूप हस्ताक्षर अभियानलाई अघि सारेको जनाएको छ।

रास्वपा २०७९ असार ७ गते स्थापना भएको पार्टी हो।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर