प्रदेशसभा सदस्य पहाडीको आपत्ति : नयाँ पत्रिकाको समाचार भ्रामक र कपोलकल्पित

सिन्धुली, १३ असार । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्दर्भमा नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारप्रति प्रदेशसभा सदस्य रामकुमार पहाडीले कडा आपत्ति जनाएका छन्। सिन्धुली क्षेत्र नं. १ (२) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पहाडीले आफूमाथि लगाइएको आरोपलाई पूर्ण रूपमा मनगढन्ते, कपोलकल्पित, भ्रामक, दुराशयपूर्ण र अनर्गल भनेका छन्।
उनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस संसदीय दलको बैठकमा मन्त्री कुन्दनराज काफ्लेमाथि आरोप लगाएको उल्लेख गर्दै आफ्नो नामसमेत जोडेर समाचार सम्प्रेषण गरिएकोप्रति आपत्ति जनाएका हुन्।
“मकवानपुर संवाददाताबाट श्रृंखलाबद्ध रूपमा प्रकाशित समाचार काल्पनिक र भ्रमपूर्ण छन्,” विज्ञप्तिमा उल्लेख छ, “यस्ता समाचारले नयाँ पत्रिकाको विश्वसनीयता माथि नै गम्भीर प्रश्न उठाएको छ।”
प्रदेशसभा सदस्य पहाडीले समाचार प्रकाशन पूर्व सम्पादक तहबाट तथ्य परीक्षण (फ्याक्ट चेक) नगरी हतारमा सामग्री सम्प्रेषण गरिएकोप्रति पनि गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले यस्ता भ्रामक समाचारप्रति आम जनसमुदायले विश्वास नगर्न अनुरोध गरेका छन्।
त्यस्तै, समयमै खण्डन नगरे झुटा समाचारमार्फत चरित्र हत्या गर्ने प्रयासप्रति कानुनी कारबाहीको चेतावनी पनि उनले दिएका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया