योजना खरिद–बिक्री गरेको प्रमाण देखाउन सक्छु, नसके सांसद पद त्याग्छु : पहाडी

बागमती प्रदेशको बजेटमा आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेमाथि रकम असुली गरी योजना समावेश गरेको गम्भीर आरोप लगाउँदै नेपाली कांग्रेसका सांसद रामकुमार पहाडीले योजना खरिद–बिक्री भएको प्रमाण देखाउन आफू तयार रहेको बताएका छन् । प्रमाण देखाउन नसके सांसद पद त्याग्ने चुनौतीसमेत उनले दिएका छन् ।

बुधवार र बिहीबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा सिन्धुलीका सांसद पहाडीसहितका सांसदहरूले मन्त्री काफ्लेले मनोमानी ढंगले आफ्ना क्षेत्रका योजनामा बजेट खन्याएको र अन्यत्र योजना राख्न रकम असुलेको आरोप लगाएका हुन् । पहाडीले भने, रकम असुलेर कतिपय योजना पारिएका छन्, म त्यसको प्रमाण देखाउन सक्छु नसके सांसद पद त्याग्छु, प्रमाण देखाएँ भने सम्बन्धित मन्त्रीले राजीनामा दिनुपर्छ।’

बजेट निर्माणमा बिचौलियाको प्रभाव बढेको र मन्त्रीहरूकै संलग्नतामा योजना खरिद–बिक्री भएको भन्दै सांसदहरूले आक्रोश पोखेका छन् । काठमाडौंका सांसद छिरिङ दोर्जे लामा, रसुवाका प्रभात तामाङ, ललितपुरका रामकृष्ण चित्रकारलगायतले पनि बजेटमा गम्भीर असन्तुष्टि जनाएका थिए ।

दलको बैठकमा सांसद चित्रकारले बजेटलाई नै मापदण्डविहीन’ भन्दै तीव्र आलोचना गरेका थिए । टुक्रे योजना धेरै छन्, नीतिगत आयोजना नभएका कारण कार्यान्वयनमै समस्या देखिन्छ यो बजेटको काम छैन,’ उनले भनेको बैठकमा सहभागी सांसदहरूले बताएका छन् ।

सांसदहरूका गम्भीर आरोपबीच कांग्रेस संसदीय दलको बैठक मात्रै होइन, बिहीबार दिउँसोका लागि तय गरिएको प्रदेश सभा बैठक समेत स्थगित गरिएको छ । प्रदेश सभामा बजेट विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

दलभित्रै विवाद चर्किएपछि मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा प्रदेश सभामा बजेट छलफल अघि नबढाउने निर्णयमा पुगेका थिए । सांसदहरूले नै सदनमा विरोध गर्ने बताएपछि केही दिनका लागि बैठक सारिएको हो,’ एक सांसदले जानकारी दिए । नयाँ पत्रिकाबाट


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर