एमाले सिन्धुलीको आर्थिक संकट: केन्द्रसँग २३ लाखभन्दा बढीको दायित्व, पुराना हिसाब अझै अपूरा

सिन्धुली, १२ असार ।  नेकपा (एमाले) सिन्धुलीको सार्वजनिक आर्थिक प्रतिवेदनले संगठनको आन्तरिक आर्थिक अव्यवस्था र बढ्दो दायित्वको तस्बिर उजागर गरेको छ। पार्टीको खर्च तीव्र रूपमा बढेको देखिन्छ भने, केन्द्र र अन्य निकायहरूसँगको पुरानो बक्यौता अझै  तिर्न सकेको छैन।

गत असार ७ गते सम्पन्न प्रतिनिधि परिषद्को दोस्रो बैठकमा लेखा समितिका उपाध्यक्ष श्रवण कुमार नेवा खड्गीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, एमाले सिन्धुलीले पार्टी केन्द्रलाई तिर्न बाँकी रकम २३ लाख २० हजार ५२ रुपैयाँ रहेको छ।

त्यसमध्ये १८ लाख ४१ हजार ८ सय ३३ रुपैयाँ पुरानो दायित्व हो, जुन तत्कालीन जिल्ला अध्यक्ष प्रदीप कटुवालको दोस्रो कार्यकालमा केन्द्रमा बुझाउनुपर्ने सदस्यता शुल्क नबुझाइएकै कारण रहेको बक्यौता हो। बाँकी ४ लाख ७८ हजार २ सय १९ रुपैयाँ पछिल्लो दुई आर्थिक वर्षमा बुझाउन बाँकी रहेको उल्लेख गरिएको छ।

पार्टीले कार्यक्रम आयोजना गर्दा गरिएको खर्च, फर्निचर र प्रेस लगायतका सेवा प्रदायक, व्यक्तिगत तथा संस्थागत ऋणसमेत गरी अन्य शीर्षकमा पनि १३ लाख २३ हजार १ सय ७६ रुपैयाँ बराबरको दायित्व अझै तिर्न बाँकी छ।

एमाले सिन्धुलीको आम्दानीको मुख्य स्रोत सदस्यता शुल्क, जनप्रतिनिधिबाट उठाइने लेवी र विभिन्न सहयोगदाता हुन्। हाल जिल्लामा करीब ६ हजार संगठित सदस्य रहेका छन्। यद्यपि, जनप्रतिनिधिबाट उठाइनुपर्ने लेवी न्यून मात्रामा संकलन गरेको छ । भने राजनीतिक नियुक्तिबाट तलब र भत्ता बुझ्ने व्यक्तिहरूले लेवी नबुझाएको लेखा समितिले औँल्याएको छ।

आर्थिक वर्ष २०७९/८० मा पार्टीको आम्दानी २८ लाख ९१ हजार ९८४ रुपैयाँ ६३ पैसा र खर्च ११ लाख ६९ हजार ९८४ रुपैयाँ ६३ पैसा थियो, जसअनुसार सो वर्ष पार्टीले करिब १७ लाख २२ हजार रुपैयाँ बचत गरेको थियो। तर २०८०/८१ मा आम्दानी ३१ लाख ४ सय १८ रुपैयाँ २२ पैसा मात्र रहँदा खर्च ३४ लाख ६२ हजार ५ सय ९७ रुपैयाँ ५३ पैसा पुगेपछि पार्टी ३ लाख ६२ हजार १ सय ७९ रुपैयाँ ३१ पैसाको घाटामा गएको हो।

हाल: पार्टीसँग मौज्दात नगद १ लाख २० हजार रुपैयाँ र बैंक खातामा ६ लाख २१ हजार ८ सय ३५ रुपैयाँ ५९ पैसा मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर