हरिहरपुरगढीले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम, वडाध्यक्षहरू एक करोड बजेट पाएपछि मख्ख

सिन्धुली, ९ असार । हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको दोस्रो गाउँसभा तथा २१औँ अधिवेशनमा अध्यक्ष बज्रध्वज वाइबाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रमको मूल लक्ष्य आर्थिक सवलता, आत्मनिर्भरता र उत्पादनमुखी विकास जोड दिइएको छ।
नीति तथा कार्यक्रममा शिक्षा, कृषि, पर्यटन, पूर्वाधार र वातावरणीय सन्तुलनमा जोड दिएको छ। वडागत रूपमा प्रत्येक वडालाई १ करोड रुपैयाँको बजेट विनियोजन गरिएपछि वडाध्यक्षहरू विशेष उत्साहित देखिएका छन्। उनीहरूले “पहिलो पटक वडाले आफैँ योजना बनाउन र कार्यान्वयन गर्न सक्ने गरी बजेट आएको” भन्दै यसलाई निर्णायक अवसरका रूपमा लिएका छन्।
पूर्वाधार: सडक, पुल, भवन र सहरी योजना विस्तार
गाउँपालिकाभित्रका कच्ची तथा निर्माणाधीन सडकहरू स्तरोन्नति गरिनेछ। वर्षभरि यातायात सञ्चालन हुने किसिमले मर्मत र सुधार गरिने योजना छ। सडक मर्मतमा पालिकाले स्थानीय जनशक्ति प्रयोग गर्ने नीति लिएको छ।
आवश्यक स्थानहरूमा झोलुंगे पुल निर्माण गरी बस्तीहरू जोडिनेछन्। विद्यालय भवन, स्वास्थ्य संस्था, खानेपानी आयोजना जस्ता संरचनात्मक कामलाई प्राथमिकता दिइनेछ। नगर विकास कोषसँगको साझेदारीमा एकीकृत सहरी योजना तयार गर्न प्राविधिक सम्भाव्यता अध्ययन सुरु गरिने जनाइएको छ।
कृषि र पशुपालन: उत्पादन, वितरण र ब्राण्डिङमा जोड
गाउँपालिकाले कृषि क्षेत्रमा व्यापक सुधार योजना ल्याएको छ। उत्पादनमा वृद्धि गर्न तरबुजाको ब्राण्डिङ, माटो परीक्षण, उर्वरता सुधार तथा भेटेरिनरी ल्याब स्थापनाको योजना छ। दूध, फलफूल र तरकारीको व्यापारलाई व्यवस्थित बनाउन डेलिभरी भ्यान हस्तान्तरण गरी प्रयोगमा ल्याइनेछ। पालिकाभित्र निर्मित कोल्ड स्टोर सञ्चालनमा ल्याएर कृषिजन्य वस्तुको भण्डारण र मूल्य स्थिरता सुनिश्चित गरिने छ।
शिक्षा: छात्रवृत्ति, भौतिक सुधार र अतिरिक्त गतिविधिमा ध्यान
विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्याड निःशुल्क उपलब्ध गराइनेछ। कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान दिइनेछ। सामुदायिक विद्यालय सुधारका लागि ‘समुदायले नै सुधार गरौँ’ भन्ने अभियान सुरु गरिनेछ। अतिरिक्त क्रियाकलाप तथा खेलकुद पूर्वाधार निर्माणमा पनि जोड दिइएको छ।
स्वास्थ्य: मातृत्व, पोषण र अस्पताल निर्माण
सुत्केरी महिलालाई अतिरिक्त रु. १ हजार प्रोत्साहन भत्ता दिइनेछ। विद्यालयबाहिर रहेका किशोरी र गर्भवती महिलाहरूको पोषण तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आयआर्जनका कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल आगामी वर्षभित्र सम्पन्न गर्न आवश्यक समन्वय गरिने उल्लेख गरिएको छ।
सञ्चार र सहरीकरण: टेलिकम टावरदेखि आवास सुधारसम्म
गाउँपालिकाभित्रका विभिन्न स्थानमा नेपाल टेलिकमसँगको सहकार्यमा टावर निर्माण गरी सञ्चार पहुँच सुधार गरिनेछ। खरको छाना हटाई सुरक्षित आवास निर्माणलाई निरन्तरता दिइनेछ। सहिद परिवारका सदस्यहरूलाई निःशुल्क स्वास्थ्य बिमा र सीपमूलक तालिम सहित कर्जा कार्यक्रम पनि सञ्चालन गरिनेछ।
पर्यटन: ऐतिहासिक र प्राकृतिक सम्पदाको संरक्षण
हरिहरपुरगढी किल्ला, जीतपुरगढी, कुण्ड पोखरी, लोहासुर पोखरी जस्ता क्षेत्रहरूलाई संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ। यसका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिने जनाएको छ।
कुल बजेट ६१ करोड, चालु खर्चको हिस्सा उच्च
गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले कुल ६१ करोड १३ लाख ५५ हजार ९३७ रुपैयाँको बजेट सभा समक्ष प्रस्तुत गरेका थिए । चालुतर्फ ४४ करोड २ लाख ५५ हजार ९३७ र पुँजीगततर्फ १७ करोड ११ लाख विनियोजन गरिएको छ। त्यस्तै, वडागत योजनाका लागि मात्र ८ करोड विनियोजन गरिएको छ, जसअनुसार प्रत्येक वडाले १ करोड बराबरको योजना सञ्चालन गर्न पाउनेछ। भने कार्यालय प्रशासन तथा प्रशासनिक खर्चका लागि १६ करोड ५३ लाख ६ हजार विनियोजन गरिएको छ। सशर्त अनुदानबाट चालु खर्चतर्फ २२ करोड २ लाख ६ हजार र पुँजीगततर्फ ४ करोड ६७ लाख छुटाइएको छ। लक्षित कार्यक्रमहरू सञ्चालन गर्न २६ लाख ५० हजार बजेट छुटाइएको छ। त्यसैगरी वन तथा वातावरण क्षेत्रमा कार्यक्रम सञ्चालनको लागि ५ लाख विनियोजन गरेको छ। सुशासन तथा संस्थागत विकासका लागि ३३ लाख ५० हजार बजेट छुटाइएको छ।
सङ्घीय समपूरक र प्रदेश समपूरक अनुदानको रूपमा २ करोड ३३ लाख बजेट प्रस्ताव गरेको छ। गाउँपालिकाले नेवा (NEWA) साझेदारीमा सञ्चालन हुने खानेपानी आयोजनाका लागि ११ लाख विनियोजन गरेको छ। भने, निर्माणाधीन १५ शय्याको पालिका अस्पतालका लागि १ करोड ५० लाख छुटाइएको छ। त्यस्तै विषयगत शाखाहरू सञ्चालन गर्न ५९ लाख ४३ हजार ९३७ विनियोजन गरेको छ। जितपुर खानेपानी मा मोटर खरिद गरेको बाँकी ५ लाख र भुक्तानीको लागि छुटाइएको छ।
वडाध्यक्षहरूको प्रतिक्रिया: बजेट पाउँदा खुसी
वडागत योजनाका लागि प्रत्येक वडामा रु. १ करोडको सिधा बजेट विनियोजन भएपछि अधिकांश वडाध्यक्षहरू उत्साहित भएका छन्। गाउँ सभामा सहभागी अधिकांश वडाध्यक्षहरूले आफूले पाएको बजेटप्रति सन्तोष व्यक्त गरेका छन्। प्रत्येक वडामा रु. १ करोड छुट्टै विनियोजन भएपछि धेरै वडाध्यक्षहरू मख्ख देखिए।
वडा नं. १ का अध्यक्ष जीतबहादुर थिङले भने, “पहिलो पटक वडाले आफैँ योजना बनाउन, निर्णय गर्न र कार्यान्वयन गर्न सक्ने अवस्था आएको छ। अब हामीले भोगेका समस्या समाधानतर्फ केन्द्रित हुन पाउँछौँ।” त्यसैगरी वडा नं. ३ का अध्यक्ष कुल बहादुर भोलनले भने, “पहिलो पटक वडाको योजना आफैँ बनाउने र कार्यान्वयन गर्ने अधिकार आएको छ। अब हामीले देखेका सपना योजनामार्फत कार्यान्वयन हुने छन्।” उनले भने ।, भोलन मात्रै होइन, वडा नं. ५ का वडाध्यक्ष साइला लामाले यो बजेटले “वडा स्तरमै नागरिकको सन्तुष्टि दिलाउने गरी काम गर्न सकिने” बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।