चुरेविनासः हेर्दाहेर्दै छिमेकी जोगी भए, अब मेरो जोगी बन्ने पालो

अधिकारसम्पन्न चुरे संरक्षण समिति गठन भयो। यो समाचारले मेरो ध्यान तान्यो। राम्रै हुने भो भन्ने आशा पलायो।

म चुरेको काखबाट बग्ने कमला नदीको किनारमा बस्छु। मेरो दैनिक रोजीरोटी चल्ने कमला किनारको उर्वर भूमिमा यही नदीबाट सिँचाईं हुन्छ। म यो नदीलाई २०४८ सालदेखि निरन्तर चिन्छु। आज २२ वर्ष बितेछ। यो नदी किनारमा भैँसी चराएको छु। नदी तारेर गाईवस्तु चराउन चुरेको डाँडा चढेको छु। बर्खामा टाउको डुबाएर भिमान स्कुल पढ्न गएको छु। कतिपटक बर्खाको भेलले बगाउँदा जीवन र मरणको दोसाँधमा पुगेर भक्कानिँदै आज चाहिँ बाँचियो भन्ने अवस्थामा पुगेको छु।

हो, यही कमला नदी केही वर्ष पहिला उर्लेर आयो। सबैभन्दा बीचमा रहेको मेरो खेत हेर्दाहेर्दै कटान भयो। केही कठ्ठा जमिन सधैँका लागि बगर बन्यो। लौ मरोस्, मेरो त आजका मितिसम्म खान पुग्ने बाँकी छ। तर मभन्दा छेउतिर रहेका सयौँ बिगाहा जमिन बगर बन्यो। सयौँ परिवार हेर्दाहेर्र्दै जोगी बने। कतिको त घरवासै उठेर बसाइँ हिँड्नुपर्ने अवस्था सिर्जना भयो।

म त्यत्तिबेला झस्केँ, अब मेरो जोगी हुने पालो आयो। म आज पालो कुरेर बसेको छु र मजस्तै धेरै कुरेकै छन्।

मेरा गाउँका ८० वर्षका माझीबा आज पनि खोलामा माछा मार्न खुँवा थाप्छन् र जाल खेल्छन्। ती माझीले मलाई विगत सम्झँदै भने, ‘कुनै दिन कमला नदी सानो थियो। अनकन्टार झाडीका बीचबाट कमला नदी बग्थ्यो। दुवैतिरको वाँस जोडिन्थ्यो। ‘हामी कति ठाउँमा त उफ्रेरै पारिवारि गर्थ्यौँ। कमला किनारको चुरे घना जंगल थियो। बाघ, चितुवा, बँदेल, मयुरजस्ता वन्यजन्तु जताततै भेटिन्थ्यो। हामी एक्लैदुक्लै चुरेको जंगलमा गाईवस्तु लिएर जान डर मर्नुहुन्थ्यो नानी।’

तिनै माझीबा आज कमला नदीमा आँखाले भ्याउन्जेलको बगर देख्छन्। खेतीयोग्य जमिन बगर भएर जोगी भएका आफ्ना नातिपुस्ता भेट्छन्। अनि दिक्क मान्दै मलाई भन्छन्, ‘मान्छेले आफ्नै खुट्टामा बन्चरो
हानेपछि कस्को के लाग्छ? नजिकैको चुरेको जंगल हामीले मास्यौँ नानी। चुरे सारै कमलो ढुंगागिटट्ी बालुवाले बनेको छ। जानी नजानी यहीँको वन हामीले सखाप पार्यौँ‍। ढुंगागिट्टी, बालुवा झिकेर सिमेन्टका घर बनायाैँ। चुरे विनास गरेर बनाएर घर बनाउन र खोरिया फाँड्न छोडेनौँ।’

‘यसैले नानी, कमलो चुरेमा हजारौँ खहरे बने। चुरेको ढुँगा, गिट्टी, वालुवा, र माटो बगेर कमला लगायत नजिकका नदीमा मिसियो। कमला लगायतका नदीको सतह उकासियो। हिजो मानव वस्तीवाट नदेखिने कमला नदी आज खेतीयोग्य जमिनभन्दा माथि पुग्यो। त्यसैको परिणाम हो नानी, यो खेतीयोग्य जमिन बगर बनेको र मानवबस्ती उजाड बनेको,’ उनी तर्क गर्थे।

माझीबा आज पनि हामीसँगै छन्। हाम्रै कारण यो अवस्था आएको बताउन छाड्दैनन्।

म १२ वर्ष हुँदादेखि नाता जोडिएको चुरेले २२ वर्षपछि भविष्य अँध्यारो देखाएको छ। हो, कुनै समय चुरे काछमा रहेर बग्ने कमला र मरिण नदीको दाँयावायाँ रहेका जमिन कसैका निम्ति डाहा गर्ने विषय बन्थे। कति सुन्दर थियो यो खेतीयोग्य जमिन। यहीँ उत्पादित खाध्यान्नले रामेछाप, ओखलढुंगा, हुँदै खोटाङसम्मका मानिस पालिएका थिए। हजारौँ ढाकर बोक्ने ढाक्रेहरु खाद्यान्न ढुवानी गर्न लस्कर लागेर आउने गरेको हाम्रै आँखाले देखेकै थियौँ। तर आज यो अवस्था छैन। उल्टै यही वस्तीको हजारौँ बिगाहा जमिन बगर बन्यो। सयौँ परिवार जोगी बने र घरवासै बगेर बसाइँ हिँड्न बाध्य भए। यहीँका बासिन्दा आज बाहिरवाट बेसाहा खान बाध्य छन्।

चुरे विनासको प्रभाव सिन्धुलीको कमला र मरिण आसपासमामात्र परेको छैन। तराईका समथर खेतीयोग्य समथर फाँट हुँदै नेपालसँग जोडिने भारतीय भुभागसम्म परेको छ। कुनै समयको वरदान यो चुरे आज अभिशाप भएको छ।

यो आफैँ यस्तो भएको भने हैन। हिजो चुरेको काछमा वस्ने मानिसलाई औलो लाग्छ भन्ने थियो। त्यो क्षेत्रका आदिवासी माझी, दनुवार, लगायतका मानिस मात्र चुरे आसपास बसोबास गर्थे। बस्ती पातलो थियो। पछिल्लो आधा शताब्दीदेखि औलोको उपचार हुन थाल्यो। खेतीयोग्य जमिन भएका कारण चुरे काछमा बसाइँ सर्ने क्रम अत्याधिक भयो। योसँगै चुरे विनासको क्रम व्यापक भयो। अझ २०३६ सालपछि भएका हरेक राजनीतिक घटनाक्रमसँगै चुरे दोहन गर्ने क्रम ह्वात्तै बढेर गयो। चुरेको काठ निकासीमा तीव्रता आयो। चुरे विनास गरेर बस्ती बसाउने र खोरिया फडानीको क्रम बढ्यो। ढुंगा, गिट्टी, बालुवा निकासीको त हिसाबै नगरौँ। यसैको प्रभावमा चुरेमा खहरे बन्यो। हरेक १०÷१५ मिटरमा सानाठूला खहरे बनेका छन्। हामी आफैँले गरेको प्राकृतिक विनासले आज आफ्नै जीवन अँध्यारो बनाएको छ। हरेक वर्षासँगै हरेक रात बिहान हुँदा कसको खेतीयोग्य जमिन बगर बन्ने हो वा कसको बसोवासस्थल नदी किनारमा पुगेर बसाइँ हिँड्नुपर्ने हो भनेर चिन्ता लिएर सुत्नुपर्ने अवस्था छ।

यो कहालीलाग्दो अवस्थावाट उन्मुक्तिका लागि यो क्षेत्रमा बस्ने बासिन्दाले राज्य गुहारे। चुरे विनासमा लाग्ने तस्कर लगारे तर कहीँकतैबाट पनि आफ्नो भविष्य सुरक्षित छ भन्ने अवस्था कहिल्यै आएन। राज्यले चुरे संरक्षणको नाममा माखो नमारेपछि सिन्धुलीको कमलाखुँजका बासिन्दा आफैमा जागेर चरिचरण नियन्त्रण गरी प्राकृतिक सम्पदा विनासका कारण भएको यो डरलाग्दो समस्याको समाधान प्राकृतिक सम्पदा नै संरक्षण गरेर गर्न सकिन्छ भनेर उदाहरण दिएका छन्। चुरे काछमा वस्ने कमलाखुँजका बासिन्दा यसका अभियन्ता हुन्। आज सिन्धुलीको टाँडीस्थित तल्लो धनसरी यसको नमूनाको रुपमा छ। चुरे विनास रोक्ने हो भने यही साना प्रयास अनुसरण गरेर अगाडि बढ्दा राम्रो उपलब्धी हासिल गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु।

आफ्नो खेतीयोग्य जमिन कहिले बगर होला या बस्ती नै बिस्थापित होला भन्ने त्रास पालेर बसेका हाम्रा निम्ति अधिकारसम्पन्न चुरे विकास समितिको निर्माणले पक्कै केही राहत महसुस गर्न भने सकिन्छ। तर यो कतै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमजस्तो हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तै नहोस्।

अधिकार सम्पन्न चुरे संरक्षण समितिलाई पहिला हाम्रो निम्तो जहाँ कमलाखुँज क्षेत्रका बासिन्दाले आफ्नै प्रयत्नमा चुरे विनास कसरी रोके, प्रकृति विनासबाट हुने धनजनको क्षतिलाई कसरी प्रकृति नै संरक्षण गरेर रोक्न सकिन्छ भनेर देखाए, हेर्न आउनुहोला र आगामी कार्ययोजना बनाउनुहोला। (२०७१ असार ६ मा सेतोपाटीमा प्रकाशित)


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर