गोलन्जोरको नीति कार्यक्रममा हायु भाषा संरक्षणदेखि रिङरोड निर्माणसम्म, अध्यक्षले लेखे ‘नोट अफ डिसेन्ट’

ग्वाल्टार, ८ असार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शनिवार सम्पन्न १७ औँ गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष शंकरराज बरालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

गाउँपालिकाले कृषि तथा पशुपालन, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य तथा आयुर्वेद, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा जेष्ठ नागरिक, कला तथा संस्कृति, सडक तथा पुल, सिँचाइ, भवन तथा सहरी विकास जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरेको जनाएको छ।

त्यस्तै, भू-उपयोग, ऊर्जा तथा विद्युत, सूचना तथा प्रविधि, फोहोर मैला व्यवस्थापन, वन तथा वातावरण, विपद् व्यवस्थापन, सुशासन, सामाजिक सुरक्षा र राजस्व परिचालनलाई समेत प्राथमिकतामा समेटिएको अध्यक्ष बरालले जानकारी दिए।

यस वर्ष पनि ‘एक घर एक धारा’ तथा स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै, जुनार ब्रान्डिङ, बजारीकरण तथा महोत्सव आयोजना, गाउँपालिका भित्र रिङ्गरोड निर्माणको अवधारणा, हायु भाषा संरक्षणका लागि सङ्ग्रहालय निर्माण, र घाटहरूमा मलामी विश्राम स्थल र शौचालय निर्माण गर्ने योजना कार्यक्रमभित्र समावेश छ।

यसबाहेक, विपन्न नागरिकलाई निःशुल्क विद्युत मिटर वितरण, डिजिटल नागरिक बडापत्रको सुरुवात, बाँदर नियन्त्रणका लागि वन क्षेत्रमा फलफूल खेती, विपद् व्यवस्थापनका लागि पालिका तथा वडा तहमा गोदाम निर्माण गर्ने योजनासमेत प्रस्तुत गरिएको छ।

तर, वडा नं ६ का वडाध्यक्ष रविन कुमार श्रेष्ठले नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। उहाँले गाउँपालिका अध्यक्षले सभाका सदस्यहरूलाई धारणा राख्न अवसर नदिएको, कुनै बैठक नबसी तथा बिना छलफल नीति तथा कार्यक्रम एकलौटी ढङ्गले सार्वजनिक गरिएको भन्दै गम्भीर आपत्ति जनाएका थिए।

गोलन्जोर गाउँपालिकाले आगामी असार १० गते आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने जनाएको छ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर