सिन्धुलीमाढीमा दुई दिने युवा सम्मेलन सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी

सिन्धुली, जेठ ७ । “सम्मानित र समृद्ध जीवनका लागि सामुदायिक सशक्तीकरण” भन्ने मूल नाराका साथ सिन्धुलीमाढीमा आयोजित दुई दिने युवा सम्मेलन शनिवार सम्पन्न भएको छ। मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीको आयोजनामा र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सम्पन्न उक्त सम्मेलनमा जिल्लाका तीन स्थानीय तहबाट ६३ जना युवाको सहभागिता रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनको पहिलो दिन सहभागी युवाहरूले आफ्नो जीवनमा हासिल गरेका सफलताको कथा प्रस्तुत गरेका थिए। साथै, जलवायु परिवर्तन र त्यसको असर, विपद् व्यवस्थापनमा युवाको भूमिका, सामाजिक उत्तरदायित्वबाट नेतृत्व विकास, बाल श्रम सम्बन्धी स्थानीय योजना, तथा स्थानीय सरकारका पहलहरूमा युवाको सक्रियता जस्ता विविध विषयमा गहन छलफल गरिएको थियो।
सरोकारवालासँग प्रत्यक्ष संवाद
सम्मेलनको दोस्रो दिन सरोकारवाला निकायहरूसँग प्यानल छलफल गरिएको थियो। छलफलमा बागमती प्रदेशसभा सदस्य शुष्पा भुजेल, प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ, नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. गंगादत्त नेपाल, दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किशोर थारु तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दीपेश घिमिरे सहभागी थिए।
प्यानल छलफलका क्रममा सहभागी युवाहरूले “स्लास परियोजना” अन्तर्गत युवा नागरिक अंकपत्र सङ्कलनको क्रममा पत्ता लागेका स्थानीय समस्या र सुझावहरू प्रस्तुत गरेका थिए। विद्यालयमा नर्सको अभाव, स्वास्थ्य चौकीमा औषधिको कमी, तथा किशोरीमैत्री संरचनाको अभावलगायतका विषयमा सरोकारवालासँग प्रश्न गरिएको थियो।
प्रदेशसभा सदस्य भुजेलले सबै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गर्ने सरकारको तयारीबारे जानकारी दिँदै, तत्काल औषधिको आपूर्ति र सेनिटरी प्याड व्यवस्थापनका लागि पनि पहल गरिने बताइन्। मन्त्री तामाङले युवाको रुचिअनुसार उद्यमशीलता र व्यवसाय प्रवर्द्धन गर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राखिन्।
सम्मेलनको निष्कर्ष
सम्मेलनको अन्त्यमा आयोजक संस्था ह्याण्ड्स नेपालले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा युवा सहभागिता, जलवायु न्याय, लैङ्गिक समानता, सामाजिक उत्तरदायित्व, र नीति निर्माणमा युवाको प्रभावकारी भूमिका सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सिन्धुली जिल्लाका युवालाई सामाजिक, आर्थिक र वातावरणीय मुद्दामा सचेत बनाई नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यसहित सम्पन्न सम्मेलनले सहभागीहरूलाई सशक्त बनाएको आयोजक संस्थाले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।