डा. भट्टराईको आरोप: एमालेको समस्या नेतृत्वमा होइन, बरण्डामा हो!

सिन्धुली, ७ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीभित्र देखिएका समस्याको जड नेतृत्वमा नभई पार्टीको बरण्डा तहमा रहेको बताएका छन्।
एमाले सिन्धुलीको आठौँ जिल्ला प्रतिनिधि परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले यो कुरा स्पष्ट पारेका हुन्।
भट्टराईका अनुसार एमालेको मूल नेतृत्व र तल्लो तहबिच सहकार्य र समन्वय कायम छ, तर बिचको तह अर्थात् बरण्डा तहमा समस्या देखिएको छ। “नेतृत्वमा समस्या छैन, विचारमा पनि समस्या छैन, तर बिचको नेतृत्व तहमा कमजोरी छ, जसले पार्टी सञ्चालनमा प्रभाव पारेको छ,” उनले भने।
उनले पार्टी र नेतृत्वमाथि चौतर्फी बाह्य आक्रमण भइरहेको सन्दर्भमा कार्यकर्ताको मनोविज्ञानमा नकारात्मक असर परेको उल्लेख गर्दै, यस्तो अवस्थामा सबैले आन्तरिक एकता मजबुत पार्दै प्रतिकार गर्नुपर्ने आवश्यकता औँल्याए।
“पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चलेको छैन। विधान, विधि र पद्धति विपरीत उभिने र उभ्याउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ,” भट्टराईले प्रतिनिधिहरूलाई सुझाव दिए। उनले पार्टीभित्र अनुशासन, विचार र संगठनात्मक संरचना कमजोर बनाउने तत्त्वहरूलाई सचेत ढंगले चिन्न र सच्याउन आग्रह गरे।
आजको पुँजीवादी अर्थतन्त्र कमजोर हुँदै गएको भन्दै उनले समाजवादी विचारधाराको पुनरागमन र विश्वमा बढ्दो प्रभावको चर्चा गरे। चीन, भियतनाम र लाओसजस्ता मुलुकले समाजवादी व्यवस्थाको सफल नेतृत्व गरिरहेको उदाहरण दिँदै, उनले एमालेले पनि वैचारिक दिशामा स्पष्टता ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए। उनले देशको समृद्धिका लागि एकता, स्थायित्व र स्थिर नीति आवश्यक रहेको धारणा राखे।
एमाले सिन्धुलीका जिल्ला इन्चार्ज मनोज जंग थापाले जिल्लामा देखिएको संगठनात्मक कमजोरी सुधार्न सबै तहको सक्रियतामा जोड दिए।
जिल्ला उपसचिव दीपेश बरालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले गरेका थिए। कार्यक्रमबारे प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिएका थिए।
बैठकमा सहभागी प्रतिनिधिहरूले पनि पार्टी सुदृढीकरणका लागि वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र बिच तहको भूमिकालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया