चियाबारी-सिन्धुलीगढी पदयात्रा सम्पन्न: ‘किल्ला तर्फको पाईला, गौरवको यात्रा’

सिन्धुली,३१ जेठ । “किल्ला तर्फको पाईला, गौरवको यात्रा” भन्ने नारासहित शनिवार सिन्धुलीमा ऐतिहासिक पदयात्रा आयोजना गरिएको छ। नेपाली सेनाको श्री नं ९ बाहिनीद्वारा आयोजित यो पदयात्रा कमलामाई नगरपालिका–२ को चियाबारीबाट सुरु भई ऐतिहासिक सिन्धुलीगढी (कमलामाई–३) सम्म ८ किलोमिटर दूरी तय गरी सम्पन्न भएको हो।
पदयात्राको शुभारम्भ मध्यपूर्वी पृतनापति कृष्णबहादुर जिसीले गर्नुभएको थियो भने श्री नं ९ बाहिनीका बाहिनीपति युवराज कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। पदयात्रासँगै ‘Run for own health–2082’ नारामा आधारित दौड प्रतियोगिता पनि गरिएको थियो। महिलातर्फ गोरखनाथ गणकी सिपाही बालिका श्रेष्ठले १ घण्टा २ मिनेटमा दूरी पूरा गरी प्रथम स्थान हात पारिन् भने पुरुषतर्फ रामेछापस्थित खड्गदल गणका सिपाही अमर रानाले ५७ मिनेटमा दूरी पुरा गर्दै प्रथम भए। विजेताहरूलाई शिल्ड प्रदान गरिएको थियो।
सिन्धुलीगढी नेपालको एकीकरण कालको महत्त्वपूर्ण युद्ध स्थल हो। विसं १८२४ साल असोज १५ गते क्याप्टेन किनलोकको नेतृत्वमा काठमाडौँ सहयोगका लागि आएका २४०० ब्रिटिस कम्पनी सेनालाई करिब १२०० गोर्खाली सेनाले घरेलु हातहतियार र स्थानीय सहयोगमा पराजित गरेका थिए। गोर्खाली सेनाले पातपतिङ्गर, सिस्नु, अरिङाललगायतको प्रयोग गरी युद्ध लडेका थिए।
बिपी राजमार्ग नबन्दा सिन्धुलीगढी हुँदै महाभारत उत्तरतर्फ तथा रामेछाप, ओखलढुङ्गा, दोलखा लगायतका जिल्लामा आवतजावत हुने मुख्य मार्ग यही थियो। अहिले यही ऐतिहासिक बाटोलाई पदमार्गका रूपमा विकास गरिएको छ। चियाबारी देखि ग्वाङखोला, हात्तीढुंगा, सिरवानी, ढुंग्रेभन्ज्याङ, साउनेपानी हुँदै गढी प्रवेशद्वारसम्मको मार्ग तय गरिएको छ।
पदयात्रामा नेपाली सेना, प्रहरी, प्रशासन, सञ्चारकर्मी, संघसंस्था, व्यवसायी र सर्वसाधारणको व्यापक सहभागिता रहेको थियो। पदयात्राले सेना र नागरिकबिचको सम्बन्ध मजबुत बनाउने र इतिहासप्रति जनचासो बढाउने विश्वास लिइएको छ।
सुरुमा पदमार्गलाई कप्तान किनलोकको नाममा राख्ने प्रस्ताव भए पनि स्थानीयको विरोधपछि त्यो नाम हटाइएको छ।
सिन्धुलीगढी क्षेत्रका अन्वेषक सागरकुमार ढकालले पदमार्गमा सिँढी र विश्रामस्थल निर्माण गर्न सके पर्यटक आकर्षित हुने बताए। उनका अनुसार, यो ऐतिहासिक स्थलले देश विदेशबाट मानिसहरूलाई आकर्षित गर्ने क्षमता राख्छ। “गोर्खाली सेनाले भूगोलको फाइदा लिएर ब्रिटिसलाई पराजित गरेको युद्ध स्थल भएकाले यसको संरक्षण र प्रचार आवश्यक छ,” उनले भने।
करिब ८ किलोमिटर लामो पदमार्ग पार गर्न डेढदेखि दुई घण्टा लाग्छ। करिब ५ किलोमिटर भाग ठाडो उकालो भएकाले विश्रामस्थल र सिँढी बनाउनु पर्ने माग पदयात्रीहरूले गरेका छन्। उनीहरूका अनुसार यो मार्गले नेपालीमा गर्वको भावना जागृत गर्ने भएकाले यसको संरक्षण र प्रचारप्रसारमा सबैको सहयोग आवश्यक छ।
तस्बिरहरू-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।